Tuesday, October 25, 2011

पर्यटन बोर्ड सिइओका लागि १८ जनाको आवेदन


काठमाडौं, ६ कात्तिक – नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदका लागि १८ जनाले आवेदन दिएका छन् । खुला प्रतिस्पर्धाबाट छनोट गरिने सो पदका लागि आइतबारसम्म म्याद तोकिएको थियो । म्याद सकिने दिन ९ जनाले आवेदन दिएका छन् ।
पर्यटन बोर्डको सिइओका लागि आवेदन दिनेमा बोर्डकै वरिष्ठ निर्देशकदेखि मन्त्रालयका सहसचिव, पर्यटन व्यवसायी तथा पर्यटनविद् छन् । बोर्डका वरिष्ठ निर्देशक सुवास निरौलाले सिइओका लागि आवेदन दिएका छन् । निरौला सन् २००० मा खुला प्रतिस्पर्धाबाट निर्देशक पदमा बोर्ड प्रवेश गरेका हुन् । हाल उनी पर्यटन सम्पदा तथा विकास महाशाखाको प्रमुख छन् । सन् २००७ मार्च देखि सेप्टेम्बरसम्म निरौलाले निमित्त कार्यकारी प्रमुखको जिम्मेवारीसमेत सम्हालेका थिए । उनी दुई वर्ष पर्यटन वर्ष कार्यक्रम कार्यान्वयन समितिका सदस्य-सचिव भैसकेका छन् । त्यस्तै पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव लोकबहादुर खत्रीले  पनि सो पदका लागि आवेदन दिएका छन् । उनी मन्त्रालयको योजना महाशाखा प्रमुख हुन् । खत्री सो पदमा आवेदन दिने एक मात्र उच्च सरकारी अधिकारी हुन् । आवेदन दिने अन्यमा डा. गंगाप्रसाद अकेला, ज्ञानेश्वर महतो, डा. रघु विष्ट, भूमिलाल तामाङ, मोहनबहादुर कार्की, डा. नारायणकृष्ण प्रधान, जितेन्द्र राना, दीपकराज जोशी, डा. ज्ञानेन्द्ररत्न तुलाधर, विष्णुबहादुर जिसी, कृष्ण थापा, डा. हरि शर्मा, शिवशरण थापा र गजेन्द्रराज शर्मा छन् ।
दुईजनाले भने आवेदनमा आफ्नो नाम उल्लेख गरेका छैनन् । आवेदन दिनेमध्ये ५ जना विद्यावारिधि गरेका व्यक्ति छन् । बोर्ड सिइओका लागि कुनै पनि विषयमा स्नातकोत्तर गरी पर्यटन क्षेत्रमा दश वर्षको अनुभव हुनुपर्ने व्यवस्था छ । त्यस्तै नेपाली तथा अंग्रेजी भाषामा पोख्त हुनुपर्ने, अन्य भाषाको पनि ज्ञान हुनुपर्ने, कम्प्युटर तथा अन्य सूचना प्रविधिको ज्ञान हुनुपर्नेलगायत योग्यता सो पदका लागि तोकिएको छ ।
आवेदन दिनेमध्ये अकेला जनकपुरका प्राध्यापक हुन् । टे्रकिङ व्यवसायी महतो ग्रेट हिमालय ट्रेकका कन्सल्ट्यान्ट हुन् ।
दीपक जोशी भने बोर्डकै कर्मचारी हुन् । ज्ञानेन्द्ररत्न तुलाधर हिसिला यमी पर्यटन मन्त्री हुँदा पर्यटन वर्ष कार्यक्रम कार्यान्वयन समितिका सदस्य-सचिव बनाइएका व्यक्ति हुन् । उनी नाताले यमीका बहिनीज्वाइँ हुन् ।
बोर्ड सिइओ छनोट गर्न सञ्चालक समितिले तीन सदस्यीय उपसमिति गठन गरिसकेको छ । उपसमितिका सदस्यहरूमा बोर्ड सञ्चालक समिति सदस्यहरू गणेश सिम्खडा, ध्रुवनारायण श्रेष्ठ र निमी शेर्पेनी छन् । समितिले १५ दिनभित्र तीनजनाको नाम सिफारिस गर्नेछ । बोर्ड सिइओका लागि गत २ असोजमा ३५ दिने सूचना जारी गरिएको थियो । बोर्ड कार्यकारी प्रमुखको म्याद आगामी साता सकिँदै छ ।
बोर्डको सिइओ पदको अवधि ४ वर्षको हुने र तलब तथा सुविधा वार्ताबाट तय गरिने पर्यटन बोर्ड नियमावलीमा उल्लेख छ । बोर्डको वार्षर्िक अपरेसन प्लान बनाउने तथा कार्यान्वयन गर्ने, अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रवर्द्धन गर्न रण्ानीति तथा कार्यक्रम बनाउने, नयाँ पर्यटकीय गन्तव्यको खोजी र विकास गर्ने, सरकार तथा अन्य निकायसँग समन्वय गर्नेलगायत जिम्मेवारी सिइओको हुने नियमावलीमा उल्लेख छ ।

No comments:

Post a Comment