Tuesday, October 25, 2011

त्रिभुवन विमानस्थलमा ४७ लाखको विद्युत्


काठमाडौं, ६ कात्तिक–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महिनामा ४७ लाख रुपैयाँको विद्युत् खपत हुने गरेको छ । विमानस्थलका महाप्रबन्धक रत्तिशचन्द्रलाल सुमनले बिजुलीको बिलमात्र ४७ लाख रुपैयाँको उठ्ने गरेको बताए ।
महाप्रबन्धक सुमनका अनुसार विमानस्थलको मासिक आम्दानी २५ करोडको तुलनामा विद्युत् खर्च  लगभग २ प्रतिशत हुन आउँछ । नागरिक उड्डयन प्राधिकरणको स्वामित्वमा सञ्चालित यो विमानस्थल नेपालका लागि एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल हो । जहाँ २४ घन्टा नै विद्युत् आपूर्ति भइरहन्छ ।
सुमनका अनुसार प्रतिदिन विमानस्थलले झन्डै ७१ लाख ४२ हजार रुपैया“ आम्दानी गर्ने गरेको छ । “आम्दानीका साथै खर्च घटाउने प्रयास गरिरहेका छौं,” महाप्रबन्धक सुमनले भने । उनका अनुसार विमानस्थलमा प्रतिमहिना बिजुलीको बिलमात्र ४७ लाख रुपैया“ उठ्छ तर विभिन्न कोठा तथा ठाउ“को भाडाबाट भने मासिक २ लाख रुपैया“मात्र प्राप्त हुने गरेको छ । बिजुलीको बिल घटाउन विभिन्न स्थानमा सबमिटर राख्ने काम भइरहेको उनले जानकारी दिए ।
“उडान नभएको अवस्थामा रनवे लाइट बन्द गर्ने र विमान कम्पनीका काउन्टर तथा टर्मिनल अपरेसन भवनका बत्ती निभाउँदा विद्युत् चुहावट रोकिन्छ,” उनले भने । हाल उडान सञ्चालन नभएको समयमा अनावश्यक बत्ती बन्द गर्न एक जना कर्मचारी खटाइएको छ ।
मुलुकभर रहेका ५४ विमानस्थलमध्ये यो विमानस्थलले सबैभन्दा बढी ९५ प्रतिशत राजस्व उठाउने गरेको छ । यात्रु सेवाशुल्क र विमान पार्किङ, ल्यान्डिङ तथा भुमिस्थ शुल्कबापत विमानस्थलले ‘एरोनटिकल’ आम्दानी गर्छ भने विमानस्थलभित्र रहेका पसल, कफी सप, होटलमार्फत भाडास्वरूप ‘ननएरोनटिकल’ आम्दानी गर्ने गरेको सुमनले बताए । यात्रु सेवाशुल्कमार्फत यात्रुहरूले ट्रली, फोन, सेक्युरिटी, पानी, बिजुली, एसी, वाइफाईलगायत भुमिस्थ सेवा पाउने गरेका छन् । २ सय ३६ वटा व्यावसायिक संस्थाहरूले विमानस्थलमा काम गरिरहेका छन् भने ४ सय ६५ जना कर्मचारीको दरबन्दी छ ।
आर्थिक वर्ष २०६७/६८ मा विमानस्थलले २ अर्ब ६३ करोड रुपैया“ आम्दानी गरेकोमा चालू आवमा २ अर्ब ९३ करोड रुपैया“ राजस्व संकलन गर्ने लक्ष्य व्यवस्थापनको छ । अघिल्लो आव २०६६/६७ मा २ अर्ब २३ करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।
पर्यटकीय सिजनको सुरुवातस“गै त्रिभुवनलगायत आन्तरिक विमानस्थलमा यात्रुको चाप बढ्न थालेको छ । यो विमानस्थलमा हाल दैनिक ९० वटा अन्तर्राष्ट्रिय उडान र आन्तरिकतर्फ ३ सय उडानको आवागमन छ ।

No comments:

Post a Comment