Saturday, October 1, 2011

उद्धार विफलताले दुर्घटनामा धेरैजसोको मृत्यु


 

काठमाडौं,१४ असोज  - ०१.०६.०६८। साँझ ६ बजेर २५ मिनेट जाँदा ६ दशमलव ८ रेक्टर स्केलको भुइँचालो गयो। भुइँचालोले राजधानीको लैनचौरस्थित बेलायती दूतावासको पर्खाल भत्किँदा तीनजनाको ज्यान गयो। प्रत्यक्षदर्शीहरूले भने, 'समयमै उद्धार नभएकाले चेपिएकाको ज्यान जोगाउन सकिएन।' भुइँचालोलगत्तै २० घाइते एकैचोटि वीर अस्पतालमा उपचार गराउन पुगे, जसको चाप आकस्मिक कक्षले थेग्न सकेन।
यस्तो प्राकृतिक विपत्तिमा प्रत्येक अस्पतालले 'र्‍यापिड रेस्पोन्स टिम' राखेको हुनुपर्छ, तर यहाँ थप डाक्टर र स्वास्थ्यकर्मीधरी बोलाइएको थिएन।
भुइँचालोको केन्द्रबिन्दु रहेको ताप्लेजुङको घुन्सालगायत उत्तरी गाउँ याङमा, फले र ओलाङचुङगोला ११ दिनसम्म राज्यको सम्पर्क बाहिर रहे। १२ औं दिन बल्ल सरकारी राहत टोली घुन्सा पुग्यो। बाँकी तीन गाउँ अझै आशमै रहे।
०८.०६.०६८
माउन्टेन फ्लाइट गरेर फर्किएको बुद्ध एयरको बिचक्राफ्ट जहाज ललितपुर कोटडाँडामा दुर्घटनाग्रस्त हुँदा चालकदलका तीनसहित १९ सै जनाको मृत्यु भयो। दुर्घटनास्थलमा जीवित भेटिएका एकमात्र यात्रु निरञ्जन कर्माचार्यलाई पनि समयमै उद्धार हुन नसक्दा बचाउन सकिएन।
त्यस दिन घाइते कर्माचार्यको उद्धार तत्कालै हेलिकोप्टरबाट गरिएको भए उनी बाँच्न सक्थे। तर, गाउँलेहरूले स्ट्रेचरमा राखेर घटनास्थलबाट माथि ल्याउँदै गर्दा बाटोमा भेटिएको प्रहरी भ्यानले पनि 'गाडी मोड्न गाह्रो हुने' बहाना बनाउँदै
उद्धार गर्न मानेन।
विशंखुनारायणसम्म स्ट्रेचर र त्यहाँबाट एम्बुलेन्समा बिएन्डबी अस्पताल ल्याउनै दुई घन्टा नाघ्यो। त्यतिञ्जेल अत्यधिक रगत बगिसकेको थियो। डाक्टरहरूले भने, 'सरी, ढिलो भयो, समयमा ल्याएको भए बचाउन सकिन्थ्यो कि!'
०९.०६.०६८
२६ वर्षकै अधिक वर्षा भएको त्यस साँझ राजधानीको बिजुलीबजारमा जलमग्न बाटो छलेर मोटरसाइकल गुडाइरहेका मकवानपुरका सुन्दर रेग्मी धोबीखोलामा खसेर बेपत्ता भए। उनको अहिलेसम्म अत्तोपत्तो छैन।
घटनाको केहीबेरमै आएको प्रहरी तीन घन्टासम्म नदीभित्र नपसी दर्शक बनेर बसिरहेको प्रत्यक्षदर्शीले बताए। उद्धार गर्न उनीहरूसँग पर्याप्त साधन थिएन। प्रहरीहरू अबेरसम्म स्थानीयसँग लाइट माग्दै हिँडेका थिए। भोलिपल्ट पनि प्रहरीले आफू नसकेर 'कायकिङ' गर्ने निजी संस्था गुहार्नुपर्‍यो।
दसैं आगमनको संकेत दिँदै आकाश उघि्रने, हिलोमैलो हट्ने र दिन घमाइलो हुने असोज महिनाको सुरुआत यसपालि उल्लिखित तीन दुखद घटनाबाट भयो।
प्राकृतिक विपत्ति र दुर्घटनाका यी घटनाबाट मानवीय र भौतिक क्षति त बेहोर्नुपर्‍यो नै, सँगसँगै नेपालको उद्धार व्यवस्थापनमा रहेको कमजोरी पनि उजागर हुन पुग्यो।
यस्तो संकट आइपर्दा सरकार, सेना, प्रहरी, अस्पताललगायत सरोकारवाला सबैको पहिलो प्रयास उद्धार टोलीलाई जतिसक्दो छिटो घटनास्थल पुर्‍याउने र घाइतेहरूको कमभन्दा कम समयभित्रै उपचार सुरु गराउने हुनुपर्छ। माथिका तीनै घटनामा सरकार, सुरक्षा निकाय र अस्पताल असफल रहे।डेढ वर्षअघि पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेपालगन्ज भ्रमणमा जाँदा रुकुममा एक सुत्केरी महिलालाई तत्काल उपचारको खाँचो भएको खबर आयो। प्रधानमन्त्री नेपाल आफैं हेलिकोप्टर लिएर त्यहाँ पुगे र उनलाई काठमाडौंको प्रसूतिगृह ल्याएर उपचार गराए। आधा जनसंख्या हिमाली र पहाडी क्षेत्रमा बसोबास गर्ने हुँदा ती सबैलाई यस्तै आकस्मिक उपचार सेवाको खाँचो छ।
वीर अस्पतालका ट्रमा एवं हाडजोर्नी विशेषज्ञ डा. अशोक बज्राचार्य आकस्मिक उपचार सेवामा रहेको कमजोरी स्वीकार गर्छन्।
'जुनसुकै दुर्घटनामा घाइतेलाई जतिसक्दो चाँडो सुरक्षित रूपमा अस्पताल पुर्‍याउने प्रयास गर्नु पहिलो प्राथमिकता हो,' उनले भने, 'हामीकहाँ भने अधिकांश दुर्घटनामा घाइतेलाई अस्पताल पुर्‍याउँदा ढिला भइसक्छ, डाक्टरले चाहेर पनि बचाउन सम्भव हुँदैन।'
पछिल्ला यी तीनै दुर्घटनाबाट पनि आकस्मिक उपचार सेवाको कमजोरी छर्लंग भएको उनले बताए। डा. बज्राचार्यका अनुसार घाइतेलाई समयमै अस्पताल पुर्‍याउनसके प्रत्येक तीनमा एकको ज्यान बचाउन सकिन्छ।
नेपालमा सडक दुर्घटनाकै कारण दैनिक तीनजनाको ज्यान गइरहेको तथ्यांक छ। सामान्यतया दुर्घटनापछि २० प्रतिशतको घटनास्थलमै र ६० प्रतिशतको अस्पताल पुर्‍याउने क्रममा बाटोमा ज्यान जाने गरेको अध्ययनले देखाएको छ। २० प्रतिशत अवस्थामा मात्रै घाइतेको ज्यान जोगाउन सकिन्छ।
'६० प्रतिशत मानिसको अस्पताल लग्दालग्दै मृत्यु हुने गरेको पाइन्छ, यो भनेको स्वास्थ्य उपचारका दृष्टिले एकदमै संवेदनशील समय हो, यसमा रहेका अड्चन कम गर्न सके धेरैको ज्यान बचाउन सकिन्छ,' बज्राचार्यले भने।
प्रि-हस्पिटल केयर सिस्टम
प्राकृतिक विपत्ति वा दुर्घटनाका घाइतेलाई घटनास्थलबाट अस्पताल पुर्‍याउँदासम्मको हेरचाह प्रणालीलाई 'प्रि-हस्पिटल केयर सिस्टम' भनिन्छ। दुर्घटनामा ६० प्रतिशत मृत्यु यही अवधिमा हुने हुँदा यो प्रणाली जति सुदृढ बनाउनसक्यो घाइतको ज्यान बच्ने सम्भावना उति बढी हुन्छ।
यसको सबभन्दा ज्वलन्त उदाहरण बुद्ध एयर दुर्घटनामा जीवित भेटिएका निरञ्जन कर्माचार्य हुन्। घटनास्थलबाट अस्पताल पुग्दासम्म उनी बोल्नसक्ने अवस्थामा थिए। विस्तारै उनको स्मरण शक्ति घट्दै गयो र अस्पताल पुग्नासाथ उनलाई मृत घोषित गरियो।
यसमा घटनास्थलमा खटिएका सबै निकायको मुख्य जोड उनलाई जतिसक्दो छिटो उपचार गराएर जीवित राख्नमा हुनुपर्ने थियो। तर, त्यस्तो भएन। स्थानीय बासिन्दाले आफ्नै सक्रियतामा अस्पताल पुर्‍याउनुपर्‍यो।
बज्राचार्यका अनुसार संसारका धेरै देशमा यस्तो आकस्मिक सेवाका लागि छुट्टै उद्धार टोली बनाइएको हुन्छ। 'नेपालमा भने उद्धार टोलीको अभावमात्र छैन, आकस्मिक सेवा दिने भनिएका सुरक्षा निकाय र अस्पतालबीच आवश्यक समन्वय नहुँदा प्रायः उद्धारै ढिलो हुन्छ,' उनले भने।
दुर्घटनामा परेकाहरूलाई घटनास्थलमै र अस्पताल पुर्‍याउँदासम्म आवश्यक प्राथमिक उपचार सेवा दिन नसकिएको उनले बताए।
'दुर्घटना भएको ठाउँमा घाइतेको चोटपटक के छ, मुटु-फोक्सोले काम गरिरहेको छ कि छैन भन्नेसम्म नहेरी ट्याक्सीमा खाँदेर अस्पताल पुर्‍याइन्छ,' बज्राचार्यले भने, 'प्राथमिक उपचार नगर्दा अत्यधिक रगत बगेर अस्पताल पुग्दासम्म बिरामीको मृत्यु भइसकेको हुन्छ।'
टिचिङ अस्पतालका वरिष्ठ न्युरो फिजिसियन डा. जगदीशप्रसाद अग्रवाल घटनास्थलमै प्राथमिक उपचार दिने र सतर्कतासाथ सवारीसाधन वा एम्बुलेन्समा राख्ने हो भने धेरै हदसम्म मृत्यु रोक्न सकिने बताउँछन्।
'कम्तीमा दुर्घटनास्थलबाट घाइतेको अवस्थालाई 'स्टेबल' राखेर अस्पताल पुर्‍याउने काम पहिलोपटक उद्धारमा पुग्ने निकायकै हुनुपर्छ,' उनले भने, 'विद्यालय तहको पाठ्यक्रममै घाइतेको अवस्था कसरी स्टेबल राख्ने भन्ने खालका शिक्षा एवं सीप दिनसके धेरै प्रभावकारी हुन्छ।'
प्रि-हस्पिटल केयरअन्तर्गत धेरै देशमा पहिलोपटक दुर्घटना देख्नेले तुरुन्तै खबर गर्न सकोस् भनेर 'टोलफ्री' (निःशुल्क) टेलिफोन सेवाको व्यवस्था गरिएको हुन्छ। टोलफ्री नम्बरमा फोनको घन्टी बज्नेबित्तिकै उद्धार व्यवस्थापनको सिस्टमले दु्रत गतिमा काम गर्न थालिहाल्छ। गृह मन्त्रालयमा पनि इमर्जेन्सी अपरेसन सिस्टम भए पनि धेरैलाई यसको जानकारीसम्म छैन। डाक्टरहरूले नै त्यसको प्रभावकारिता देखेका छैनन्। यसमा घटनास्थल नक्सांकन गर्ने, त्यहाँ पुग्न सबभन्दा नजिकको बाटो पहिल्याउने र सबभन्दा प्रभावकारी साधन रोज्ने काम हुन्छ। हेलिकोप्टरदेखि हवाई एम्बुलेन्स र अन्य स्थलगत एम्बुलेन्ससम्म चौबीसै घन्टा 'स्ट्यान्डबाई' हुन्छन्। दुर्घटना कति ठूलो हो, त्यस आधारमा विभिन्न अस्पतालका आकस्मिक कक्षहरूलाई पनि तत्काल सूचना दिएर चनाखो राखिन्छ। ड्युटीमा रहेका डाक्टर र नर्सहरूले आकस्मिक सेवा दिन भ्याउने अवस्था छैन भने थप जनशक्ति डाकिन्छ।
यही 'सिस्टम'अन्तर्गत दुर्घटनास्थल नक्सांकन गरेपछि सबभन्दा नजिकको प्रहरी वा एम्बुलेन्स छिट्टै उद्धारका लागि पुग्न सक्छ। एम्बुलेन्स सेवा पनि एकीकृत हुने भएकाले घाइते संख्या अनुमान गरेर सबभन्दा नजिक रहेका एम्बुलेन्सलाई पठाइन्छ।
नेपालमा माथिका कुनै प्रणाली विकास गरिएको छैन।
६.८ रेक्टर स्केलको भुइँचालो जाँदा पनि राजधानीका ठूला सरकारी अस्पतालका आकस्मिक सेवाले सभ्भावित घाइतेको उपचार गर्न तत्काल तयारी सुरु नगर्नु फितलो उद्धार व्यवस्थापनको उदाहरण हो।
उद्धारमा खटाइने एम्बुलेन्स विशेष खालका हुन्छन्, जसमा बिरामीको ज्यान जोगाइराख्न चाहिने सबै उपकरण व्यवस्था गरिएको हुन्छ। नेपालमा अहिलेसम्म एउटामात्रै यस्तो एम्बुलेन्स राखिएको रिपोर्ट हालै सार्वजनिक भएको थियो। अधिकांश एम्बुलेन्स बिरामी ओसार्नेमात्रै छन्। त्यसमा एउटा अक्सिजन सिलिन्डरबाहेक केही हुन्न।
विशेष एम्बुलेन्समा बेसिक ट्रमा लाइफ सपोर्ट (बिटिएलएस) तालिम पाएका चालक हुनुपर्छ। कार्डियाक मोनिटर, एम्बुब्याग, अक्सिजन सिलिन्डर, सलाइन दिनसक्ने सबै सुविधा हुन्छ। त्यसमा रहेका स्वास्थ्यकर्मीले कस्तो खालको उपचार आवश्यक पर्छ भन्ने निर्णय लिएर सम्भावित केन्द्रीय कन्ट्रोल रूममा खबर गर्छन्। त्यही आधारमा कुन अस्पताल नजिक पर्छ र कसरी छिट्टै पुर्‍याउने यकिन गरिन्छ। अस्पतालमा स्वास्थ्य टोली पनि तयारी अवस्थामा रहन्छ। विशेष एम्बुलेन्समा रहने स्वास्थ्यकर्मी प्राथमिक तथा ज्यान बचाउनसक्ने तालिमप्राप्त हुनुपर्ने बज्राचार्यले बताए।
अझ नेपालजस्तो तत्काल एम्बुलेन्स पुग्न नसक्ने भौगोलिक विकट ठाउँमा यस्तो आकस्मिक सेवाका लागि हवाई एम्बुलेन्सलाई उद्धार व्यवस्थापनको महŒवपूर्ण अंगका रूपमा लिनुपर्ने डाक्टरहरू बताउँछन्।
हवाई एम्बुलेन्समा पनि घाइतको तत्काल उपचारलाई चाहिने सबै उपकरण हुन्छन्। डाक्टर र नर्स पनि खटिएका हुन्छन्।
'घटनास्थलबाट अस्पताल पुग्दासम्म बिरामीलाई चाहिनेजति प्राथमिक उपचार दिएपछि ज्यान जोगिने सम्भावना निकै बढी हुन्छ,' बज्राचार्यले भने।
प्राथमिक उपचारको मात्र कुरा होइन, अस्पताल पुर्‍याइसकेपछि पनि तत्काल उपचार सुरु नहुँदा पनि ज्यान गएका प्रशस्तै उदाहरण छन्।
वीर अस्पतालका आकस्मिक कक्ष प्रमुख डा. डिपी सिंह नेपालको आकस्मिक सेवाको दयनीय अवस्था झल्काउँदै भन्छन्, 'हामीकहाँ गम्भीर अवस्थाको बिरामी आएको छ भने आइसियु वा भेन्टिलेटर खोज्दाखोज्दै ज्यान जाने अवस्था छ।'
उद्धारमा खटिने प्रहरी, अस्पताल र घाइतेलाई कस्तो किसिमको उपचार चाहिएको छ भनी केन्द्रीय रूपमा समन्वय हुने हो भने धेरैको ज्यान जोगाउन सकिने उनले बताए। डाक्टरहरूका अनुसार यस्तो राष्ट्रिय उद्धार व्यवस्थापन प्रणालीभित्र गृह, यातायात, सञ्चारजस्ता मन्त्रालयका प्रतिनिधि रहनुपर्छ।
'२४ घन्टे आकस्मिक सेवा'
आकस्मिक सेवाको तस्बिर यस्तो रहे पनि गृह मन्त्रालयमातहतको प्राकृतिक प्रकोप तथा विपद व्यवस्थापन महाशाखा प्रमुख तथा सहसचिव शंकर कोइराला २४ घन्टा खुला रहने 'आकस्मिक अपरेसन सिस्टम' चालु रहेको बताउँछन्।
'हामी अन्य मन्त्रालय तथा निकायसँग समन्वय गरेर यस्ता सेवा दिन्छौं। हाम्रो पहिलो प्राथमिकता उद्धारमै हुन्छ,' उनले भने, 'भुइँचालो गएको दिन पनि हामीले अस्पतालहरूसँग समन्वय गरेर तयार रहन भनेका थियौं।'

No comments:

Post a Comment