Saturday, October 29, 2011

व्यक्तिगत श्रम स्वीकृतिमा बिदेसिनेको संख्या बढ्यो


काठमाडौ, कार्तिक १० - कामको खोजीमा बिदेसिने कामदारमध्ये म्यानपावर कम्पनी (संस्थागत श्रम स्वीकृति) मार्फत जानेको संख्यामा भने उल्लेख्य गिरावट आएको छ । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा गत वर्षको सोही अवधिको तुलनामा बिदेसिने कामदारको संख्यामा उच्च वृद्धि भए पनि संस्थागत रूपमा जाने घटेका छन् । व्यक्तिगत श्रम स्वीकृति लिए बिदेसिनेको संख्या अनुमान गरेभन्दा धेरैले बढेको वैदेशिक रोजगार विभागले जनाएको छ । यस अवधिमा व्यक्तिगत श्रम स्वीकृति लिनेको संख्या २ सय ३६ दशमलव २३ प्रतिशतले बढेको थियो ।
'चालू आवको पहिलो तीन महिनामा व्यक्तिगत श्रम स्वीकृति लिएर जाने कामदारको संख्या संस्थागत रूपमा श्रम स्वीकृति लिनेको भन्दा बढी छ,' विभागले भनेको छ, 'यसअघि कहिल्यै पनि संस्थागत श्रम स्वीकृतिमा जाने भन्दा व्यक्तिगत स्वीकृति जाने बढी हुँदैनथे ।'
तीन महिनाको अवधिमा ५४ हजार ९ सय ३१ जना व्यक्तिगत स्वीकृति लिएर गएका छन् । गत आवको यसै अवधिमा १६ हजार ३ सय ३७ जना कामदार मात्र व्यक्तिगत श्रम स्वीकृति लिएर गएका थिए । संस्थागत रूपमा जाने कामदारको संख्या भने घटेको छ । गत आवको पहिलो तीन महिनामा संस्थागत अनुमति लिएर ६२ हजार २ सय ७१ जना  बिदेसिएका थिए । चालु आवको पहिलो तिन महिनामा यो संख्या ५४ हजार ६ सय २३ मा झरेको छ । श्रम विभागका अनुसार समग्र बिदेसिनेको सख्या भने बढेको छ । गत वर्षको तिन महिनमा ७८ हजार ६ सय ८ जना बिदेसिएकामा अहिले १ लाख ९ हजार ५ सय ५४ जना बिदेसिए ।
व्यक्तिगत श्रम स्वीकृति लिनेको संख्या बढी भएकाले संस्थागत रूपमा बिदेसिनेको संख्या घटेको विभागले जनाएको छ । विभागका अधिकारीले व्यक्तिगत श्रम स्वीकृति लिनेको संख्या बृद्धिलाई नाटकीय भनेका छन् ।
व्यवसायीहरूले सरकारले मेसिन रिडेबल पासपोर्ट वितरण गर्न थालेपछि संस्थागत रूपमा जानेको संख्या घटेको बताउँछन् । उनीहरूले सीमित जिल्लाबाट पासपोर्ट वितरण र लिने प्रक्रिया पनि झन्झटिलो भएकाले संख्या घटेको बताउँछन् । 'रोजगार गन्तव्य मुलुकबाट नेपाली कामदारको संस्थागत माग घटेको छैन,' वैदेशिक रोजगार व्यवसायी संघका महासचिव कुमुद खनालले भने, 'तर धनुषा, सिराह, नवलपरासी, दाङजस्ता धेरै कामदार जाने जिल्लामा सरकारले सहज रूपमा मेसिन रिडेबल पासपोर्ट उपलब्ध नगराएकाले जान चाहेका व्यक्तिपनि जना पाएका छैनन् ।'
विभागले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार असोजमा अघिल्ला महिनाको तुलनामा यस महिना बिदेसिने नेपाली घटेका छन् । चाडबाडको सिजनले गर्दा अघिल्लो महिनाको तुलनामा असोजमा बिदेसिने कामदारको संख्यामा गिरावट आएको हो ।
असोजमा २६ हजार ५ सय ८१ नेपाली कामदार बिदेसिए । भदौमा ३७ हजार ८ सय ८ नेपाली काम खोज्दै बिदेसिएका थिए । साउन महिनामा सबैभन्दा बढी ४५ हजार १ सय ६५ हजार बिदेसिएका थिए । यस असोजमा बिदेसिएको संख्या गत वर्षको असोजको तुलनामा भने १३ दशमलव ७२ प्रतिशत बढी हो । गत असोजमा २३ हजार ३ सय ७५ जना बिदेसिएका थिए ।
तथ्याङक अनुसार गत वर्षसम्म सबैभन्दा ठुलो रोजगार गन्तव्य बनेको मलेसियामा जाने कामदारको संख्या अहिले घटेको छ । गत आवको पहिलो तिन महिनाको भन्दा २९ दशमलव २९ प्रतिशतले घटेर चालु अवाको २३ हजार ५ सय ३ जना कामदार मलेसिया गए । गत आवको सोही अवधिमा ३३ हजार २ सय ३९ नेपाली मलेसिया गएका थिए ।
कुवेत जानको संख्या भने १ सय ८१ प्रतिशतले बढेको छ । गत आवको १ हजार ८ सय २५ जना कामदार कुवेत गएकामा चालु आवको तिन महिनामा ५ हजार १ सय ३८ कामदार कुवेत गए । त्यसपछि कतार जानेको १ सय २५ प्रतिशतले बढेका छन् । गत आवको तिन महिनामा १६ हजार १ सय ३६ नेपाली कतार गएकामा चालु आवको तिन महिनामा ३६ हजार ३ सय ८५ नेपाली कतार गए ।
संयुक्त अरव इमिरेट्स (युएई) जानेको सख्या ८३ प्रतिशतले बढेको छ । गत आवको तिन महिनामा ९ हजार १ सय ५२ जना युएई गएकामा चालु आवको तिन महिनामा १६ हजार ८ सय १६ जना युएई गएका छन् । साउदी अवर जानेको संख्या १५ हजार १ सय ४९ बाट बढेर २२ हजार ३ सय ९३ पुगेको छ ।

No comments:

Post a Comment