Tuesday, October 25, 2011

जहाज ल्याउने निगमको पत्र अर्थमा अलपत्र

काठमाडौं, ७ कात्तिक– नेपाल वायुसेवा निगमले चीनबाट अनुदानमा जहाज उपलब्ध गराइदिन सरकारलाई पठाएको पत्र अर्थ मन्त्रालयमा पुगेर अलपत्र परेको छ । निगमले एक महिनाअघि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पठाएको पत्र अर्थ मन्त्रालयमा पुगेर अलपत्र परेको हो । दुर्गमका लागि पाँचवटा र सुगमका लागि तीनवटा जहाज अनुदानस्वरूप उपलब्ध गराई पाऊँ भनी निगमले पर्यटन मन्त्रालयलाई पत्र पठाएको थियो ।
निगमका नायव महाप्रबन्धक तथा प्रवक्ता राजुबहादुर केसीले पत्र अर्थ मन्त्रालयमा पुगेर प्रक्रियामा रहेको बताए । उनले भने, “पत्र अर्थ मन्त्रालय पुगेको छ, यसबारे छलफल भइरहेको जानकारी आएको छ ।” राष्ट्रिय ध्वजावाहक निगमसँग पर्याप्त जहाज नहुँदा नेपाल आएका पर्यटकलाई गन्तव्यसम्म पुग्न समस्या भएको छ । यसकारण नेपाली हवाई व्यापारको ९० प्रतिशतभन्दा बढी फाइदा विदेशी विमान कम्पनीले लिइरहेको केसीको भनाइ छ ।
निगम स्रोतका अनुसार अर्थ मन्त्रालयले अनुदानका लागि कुन दातृनिकायलाई पत्राचार गर्ने भन्ने टुंगो लगाउन सकेको छैन । जसका लागि प्रधानमन्त्रीको राय आवश्यक पर्ने भएपछि छलफल लम्बिएको छ । “हामीलाई तत्काल जहाज चाहिएको छ, त्यसका लागि चीन तयार रहेको हामीले थाहा पाएका छौं,” स्रोतले दाबी ग¥यो । चीनले नेपाललाई सुहाउँदो दुइटा वाई १२ विमान र एउटा एम ६० विमान निर्माणका लागि कम्पनीलाई अर्डर गरिसकेको उनले बताए । वाई १२ विमान दुर्गमका लागि र एम ६० सुगम रुटका लागि उपयुक्त मानिन्छ ।
उड्डयन विज्ञहरू अन्य मुलुकबाट अनुदानस्वरूप दुई वर्षभित्र पनि जहाज उपलब्ध हुन नसक्ने दाबी गर्छन् । “अन्य कम्पनीसँग पुरानै विमान उत्पादनको अर्डर पर्याप्त छ, चिनियाँ विमानको बजार  नेपालमा नभएकाले ऊ नेपाललाई जहाज दिन तयार भएको हो,” एक उड्डयन विज्ञले भने । चीनले उत्पादन गर्ने वाई १२ र एम ६० विमानको बजार नेपालका लागि नयाँ भएकाले जहाज चाँडै उपलब्ध गराउन सक्ने ती विज्ञको अनुमान छ । दुर्गम क्षेत्रमा हाल उडान भरिरहेका ट्विनअटर र डोर्नियर विमान पाउनै कठिनाइ हुने गरेको छ ।
पर्यटन मन्त्रालय र उड्डयन विज्ञको समितिले दुर्गम उडानका लागि ब्राजिलको एम्ब्रास्डन ११०, क्यानडाको भाइकिन, चीनको वाई १२४ ई र सिको एल १३० मोडेलका नयाँ विमान उपयुक्त हुने यसअघि नै अर्थ मन्त्रालयलाई सिफारिस गरिसकेको छ ।
विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशी यात्रु निगमसँग जहाज नहुँदा महँगो भाडा तिर्दै निजी विमान कम्पनीको विमानमार्फत यात्रा गर्न बाध्य छन् । हाल निगमसँग रहेका अन्तर्राष्ट्रिय दुइटा विमानमध्ये एउटामात्र र आन्तरिकतर्फका सातमध्ये दुइटा ट्विनअटरमात्र सञ्चालनमा छन् ।

No comments:

Post a Comment