Sunday, October 30, 2011

पाँच दिन कष्ट, एक लाख घुस, बल्ल अमेरिका


 काठमाडौं, कात्तिक १३- अमेरिका जान त्रिभुवन विमानस्थल पुगेकी डेचेन शेर्पासँग रकम असुलीमा संलग्न अध्यागमनका कर्मचारीलाई कार्बाही गर्न  पीडित पक्षधरले आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन दर्ता गरेको छ। नेपाल आदिबासी जनजाति महासंघ नेपाल, शेर्पा वर्ल्डडटकम, नेपाल शेर्पा संघ र नेपाल शेर्पा महिला संघले अख्तियारको कार्यलयमा पुगी सचिव भगवतिप्रसाद काफ्लेलाई भेटी निवेदनसहित घुस काण्डको प्रमाणस्वरुप डिभिडि बुझाएको छ।
घटनाको २० दिनपछि प्रधानमन्त्री बाबुराम भट्टराईले शनिबार गृहसचिव सुशीलजंग राणा र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव भगवती काफ्लेलाई तत्काल घटनाको अनुसन्धान प्रक्रिया अघि बढाएर आफूलाई जानकारी दिन टेलिफोन मार्फत निर्देशन दिएको उनको निजी सचिवालयले जनाएको छ।
डेचेन २०६८ असोज २१ गते बेलुका साढे ११ बजे कतार एयरलाइन्सको जहाजबाट दोहा हुँदै अमेरिका जान विमानस्थल पुग्दा अध्यागमन कर्मचारीले नेपाली नागरिक भएको पुष्टि नभएको भन्दै फर्काएर १ लाख १० हजार रुपैयाँ असुली पाँच दिनपछि २६ गतेमात्र अमेरिका उडाएका थिए।
अमेरिका पुगेकी डेचेनले कात्तिक ३ गते न्युयोर्कस्थित राष्ट्र संघको नेपाल स्थायी नियोगमा घटना विवरण र संकलित प्रमाण खुलाएर निवेदन दिएकी थिइन्। उनले नियोगमार्फत प्रधानमन्त्रीलाई समेत निवेदन पठाइन्।
डेचेनले अडियो र भिडियो रेकर्डसहित घटना सार्वजनिक गरेपछि अध्यागमन विभागले घटनामा संलग्न देखिएका त्रिभुवन विमानस्थल अध्यागमन शाखाका कार्यालय सहायक पूर्णबहादुर बस्नेतलाई कात्तिक ७ गते निलम्वन गरी विभागका अधिकृत शिवप्रसाद लम्सालको संयोजकत्वमा छानबिन समिति बनाइसकेको छ।
विभागका निर्देशक ऋषि ढकालका अनुसार तीन सदस्यीय समितिलाई १५ दिनभित्र घटनाबारे प्रतिवेदन दिन भनिएको छ। समितिले प्रारम्भिक सोधपुछ सकेर अनुसन्धान अघि बढाएको नागरिकलाई बताए।
सिडियो कार्यालयसम्म धाउनुपर्‍यो

डेचेनका भिनाजु लाक्पा शेर्पाका अनुसार उनी विमानस्थल प्रवेश गरी अध्यागमन काउन्टरअघि पुगेपछि कर्मचारीले कुनै प्रश्न नसोधी उनलाई काउन्टरभित्र लगेका थिए। लाक्पाका अनुसार बाहिरको डेस्कमा महिला कर्मचारी खटिएका भए पनि पुरुष कर्मचारीले सोधपुछका लागि भन्दै डेचेनलाई काउन्टरभित्र लगेर डकुमेन्ट देखाउन भनेका थिए। कर्मचारीले राहदानी र भिसाका आधारमा मात्र नेपाली भएको पुष्टि नहुने भन्दै नागरिकता प्रमाणपत्र मागेका थिए। डेचेनले नागरिकता प्रमाणपत्र, विवाह दर्ता, काठमाडौंका विद्यालयका मार्कसिट पेस गरेकी थिइन्।
सोलुखुम्बु खुम्जुङ गाविस, पाङवोचेकी उनले २०६२ चैत २२ गते काठमाडौंबाट २९७६५ नम्बरको नागरिकता प्रमाणपत्र लिएकी थिइन्। उनले सोही नागरिकताका आधारमा लिएको ३५३२५०२ नम्बरको राहदानी देखाएकी थिइन्। त्यसपछि पनि कर्मचारीले 'पुष्टि भएन, जिल्ला प्रशासनबाट प्रमाणित गरेर ल्याउनू' भन्दै फर्काएका थिए।
लाक्पाका अनुसार डेचेन विमानस्थलबाट फर्कने क्रममा पूर्णबहादुर बस्नेत बाहिर आएर आवश्यक कागजपत्र बनाउन आफूले सहयोग गर्न सक्ने भन्दै मोबाइल नम्बर लिएका थिए।
'बस्नेत बाहिर आएर अहिले नै अमेरिका जाने हो भने म मिलाइदिन्छु, १ लाख ५० हजार रुपैयाँ देऊ भनेका रहेछन्,' लाक्पाले भने, 'त्यत्रो पैसा छैन भन्दै उनी कागज प्रमाणित गराएर आउँछु भन्दै फर्किइछन्।'
उनका अनुसार भोलिपल्ट बस्नेतले डेचेनलाई फोन गरी आफ्नो ड्युटी बेलुकाबाट बिहान सरेको बताउँदै बिहानको प्लेन टिकट मिलाउने हो भने ५० हजार रुपैयाँ दिए एयरपोर्टको सबै काम सकिने भनेका थिए। 'तर बिहानको टिकट पाइएन,' लाक्पाले भने, 'टिकट क्यान्सिल गरेर अर्को किन्दा र कर्मचारीलाई ५० हजार दिँदा १ लाख २० हजार बढी खर्च हुने भएपछि उनले कागजै प्रमाणित गर्छु भनिन्।'
डेचेनले न्युयोर्कस्थित स्थायी नियोगमा दिएको निवेदनअनुसार घटनाको भोलिपल्ट बस्नेतले फोन गरेर एक्लै काठमाडौं प्रशासनमा आउनू भनेपछि उनी सबै प्रमाण बोकेर पुगेकी थिइन्। बस्नेतले प्रशासनमा काम गराउन पैसा लाग्छ भन्दै १० हजार रुपैयाँ लिएर नागरिकता प्रमाणपत्र सक्कली नै रहेको पत्र बनाइदिएका थिए।
जिल्ला प्रशासन जाँदा उनलाई पछाडिको ढोकाबाट छिराइएको थियो। बस्नेत सरासर रेकर्ड राखिएको स्थान पुगेर आफैं ढड्डा पल्टाई डेचेनको नागरिकता प्रमाणपत्रको कार्यालय प्रतिलिपीको फाइल झिकेका थिए।
प्रतिलिपीको फाइल फेला परे पनि १० हजार दिए अहिले नै कागज बन्ने, नत्र दुई दिन लाग्ने भन्दै बस्नेत र जिल्ला प्रशासनका कर्मचारीले पैसा मागेपछि डेचेनले १० हजार रुपैयाँ बुझाएकी थिइन्।
आफन्तका अनुसार नागरिकता प्रमाणत्र प्रमाणित भइसकेपछि पनि बस्नेतले यत्तिकै भरमा अध्यागमनका हाकिमले जान नदिने भन्दै पुनः मोलमोलाइ गरेका थिए। लाक्पामा अनुसार डेचेनले ७० हजार रुपैयाँभन्दा बढी दिन सक्दिन भनेपछि बस्नेतले 'हाकिम'लाई फोन लगाएका थिए। उताबाट एक लाख घटी काम हुन्न भन्ने जवाफ आएको बस्नेतले सुनाएका थिए।
बस्नेतले अन्य कागजपत्र बनाउनुपर्छ भन्दै डेचेनलाई अध्यामगन विभागको कालिकास्थान कार्यालय नजिकै बोलाएर एक लाख रुपैयाँ असुलेका थिए। लाक्पाका अनुसार रकम पाएपछि बस्नेतले उनलाई विभाग कार्यालयको तेस्रो तलामा रहेको कानुन शाखामा पुर्‍याएर ल्याप्चे हान्न लगाएका थिए।
'तेस्रो तलामा रहेका अन्य दुई कर्मचारीले अरू शेर्पा २५ लाख रुपैयाँसम्म खर्च गरेर विदेश जान्छन्, जाबो एक लाख दिन पनि किन यस्तो लोभ' भनेको लाक्पाले नागरिकसँग बताए, 'भोलिपल्ट विमानस्थल जाँदा कुनै चेकजाँच नगरी सिधै जान दिएछन्।'
सबै प्रमाण देखाउँदा पनि दुख दिएपछि डेचेनले भ्रष्ट कर्मचारीको पोल खोल्न सबै गतिविधि अडियो र भिडियोमा रेकर्ड गरेकी थिइन् जसमा उनीसित गरेको मोलमोलाइ र लिएको रकम कैद छ। उनले संकलन गरेको प्रमाणलाई नै आधार बनाएर अध्यागमनले अनुसन्धान प्रक्रिया अघि बढाएको थियो।

'शरणार्थी भिसा भएकाले' अनुसन्धान
अध्यागमनका निर्देशक ऋषि ढकालले अमेरिकामा रहेका शरणार्थीको परिवारले पाउने भिसामा अमेरिका जान लागेकाले शंका लागेर डेचेनमाथि अनुसन्धान गरिएको बताएका छन्। अनुसन्धानमा उनको सबै कागजपत्र प्रमाणित भएपछि अमेरिका जान अनुमति दिएको उनले बताए।
'शरणार्थीको परिवारले पाउने भिसाको आधारमा अमेरिका जान लागेकाले अध्यागमनले प्रमाण खोजेको हो,' उनले भने, 'सबै प्रमाण पुगेपछि जान अनुमति दिए पनि जबर्जस्ती रकम असुलेको दाबी आएकाले अनुसन्धान गरिरहेका छौं।'
डेचेनको दाबीअनुसार उनीसँग रकम असुल्न विमानस्थलका चार कर्मचारी, जिल्ला प्रशासनका कर्मचारी र अध्यागमन कानुन शाखाका कर्मचारीसमेत प्रत्यक्ष संलग्न देखिएका छन्। अध्यागमनले बस्नेतलाई मात्र निलम्बन गरेको छ।
ढकालका अनुसार बस्नेत विमानस्थलका कार्यालय सहयोगी मात्र हुन्। 'बस्नेत पिउन सरहका कर्मचारी हुन्,' उनले भने, 'उनी कसरी डेस्कमा पुगेर कागजपत्र चेक गरे, त्यसको पनि अनुसन्धान हुन्छ।'
ढकालले प्राप्त अडियो रेकर्डका आधारमा डेचेनसँग रकम असुल्न संलग्न रहेको आरोप लागेका कर्मचारी विमानस्थलका कार्यालय सहयोगी बस्नेत देखिएकाले उनलाई निलम्बन गरी अनुसन्धान सुरु गरेको दावी गरे। उनले भने, 'तत्काल संलग्न देखिएकाले बस्नेतमाथि कार्बाही भएको हो, अरुमाथि पनि अनुसन्धान हुन्छ।

No comments:

Post a Comment