Saturday, December 1, 2012

आन्तरिक उडान भर्न चीनबाट छ विमान खरिद गर्ने सम्झौता, 
निगममा प्रतिश्पर्धाबाट महाप्रवन्धक
काठमाडौ, १४ मंसिर– दुई दशकपछि नेपाली झण्डाबाहक नेपाल वायु सेवा निगमका लागि खुशीको खबर आएको छ । पहिलो निगमका लागि अन्तारिक उडान भर्न छ वटा विमान किन्ने सम्झौतामा हस्ताक्षर भएको छ, त्यही दिन दिउँसो मन्त्रिपरिषद्ले निगमको व्यवस्थापनमा पहिलोपटक खुला प्रतिश्पर्धाबाट महाप्रवन्धक नियुक्त गरेको छ ।
नेपाल सरकार र चिनियाँ जहाज उत्पादक एभिक इन्टरनेसनल एसियासँग विहिवार चीनमा निर्मित हवाईजहाज खरिद गर्ने सम्झौता भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको सम्झौतामा चिनियाँ पक्षले वाई १२ र एम ए ६० ब्रान्डका छ वटा जहाज नेपाल वायुसेवा निगमलाई उपलब्ध गराउने छ ।
निगमका प्रवन्ध निर्देशक राजुबहादुर केसीका अनुसार चिनियाँ पक्षले ६ वटा जहाज तीन करोड ५० लाख अमेरिकी डलर(तीन अर्ब आठ करोड रुपैयाँ)मा उपलब्ध गराउन लागेको हो । सम्झौताअनुसार चिनियाँ पक्षले नेपाललाई एउटा वाई १२ र एउटा एम ए ६० सित्तैमा उपलब्ध गराउने छ । निगमले बाँकी चारवटा जहाजका लागि तीन अर्ब रुपैयाँ भुक्तानी गर्ने प्रवन्ध निर्देशक केसीले जानकारी दिनुभयो ।

चीनबाट ल्याउन लागिएको ५८ सिट क्षमताको यो विमान पोखरा, विराटनगर लगायतका रूटमा सञ्चालन गर्ने निगमको योजना छ

नेपालले ५८ सिट क्षमताको एउटा एमए ६० र १९ सिटको वाई १२ ई जहाज अनुदानमा पाउन लागेको हो भने एउटा एमए ६० र तीनवटा वाईं १२ ई सहुलियतपूर्ण ऋणमा किन्न लागेको हो । साढे तीन अर्ब डलर पनि निगमले चिनियाँ एक्जिम बैंकसँग ऋण लिनेछ । प्रवन्ध निर्देशक के.सीका अनुसार ऋण लिने तयारी पुरा भैसकेको छ । ऋण सम्झौतामा हस्ताक्षर हुनासाथ ती विमान नेपाल आउनेछ । निगमले एक्जिम बैंकसँग पाएको सहुलियतपूर्ण ऋण आगामी ३० वर्ष भित्र तिरे पुग्छ । पहिलो पाँ वर्ष साँवा र व्इाज पनि तिर्नुपर्दैन ।
विहिवार भएको सम्झौतामा नेपालका तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रञ्जनकृष्ण अर्याल र निगमका प्रवन्ध निर्देशक केसीले हस्ताक्षर गर्नुभएको छ भने चिनियाँ पक्षबाट याङ र सोङले हस्ताक्षर गर्नुभएको छ ।निगमले अन्तराष्ट्रिय उडानका लागि पनि एयरबससँग पुरानै सम्झौतामा दुईवटा विमान दिन आग्रह गरिसकेको छ । यस विषयमा दुई पक्षवीच गत महिना छलफल समेत भएको थियो ।

चीनले नेपाललार्इ उपलब्ध गराउन लागेको १९ सिटे वार्इ १२ इ जहाज, यो जहाज निगमले दुर्गम स्थानमा उडाउने योजना बनाएको छ

एयरबसका बिमान किन्ने प्रक्रिया अहिले सरकारको कोर्टमा पुगेको छ । सरकारले असोज ३० गते शासकीय तथा आर्थिक सुधारको तत्कालीन कार्ययोजना २०६९ सार्वजनिक गर्दै निगमका लागि अन्तराष्ट्रिय उडानमा दुईवटा र आन्तरिक उडानमा छ वटा विमान खरिद गर्ने कार्ययोजना प्रस्ताव गरेको थियो । निगमले एक महिना भित्र खरिद प्रक्रिया सुनिश्च्ति नगर्ने पदाधिकारीलाई जिम्मेवारीबाट हटाउने चेतावनी पनि दिएको थियो ।
यही कार्ययोजना बमोजिम तोकिएको समयभन्दा १५ दिन ढिला गरी पर्यटन मन्त्रालयले आन्तरिक उडानका लागि छ वटा विमान किन्ने सुनिश्चित गरेको हो । विमान खरिद प्रक्रिया आगामी छ महिना भित्र पुरा गर्ने लक्ष्य पनि सरकारले लिएको छ ।
निगमको महाप्रवन्धकमा मदन खरेल
सरकारले नेपाल वायुसेवा निगमको महाप्रवन्धकमा मदन खरेललाई नियुक्त गरेको छ । खरेल निगममा कमर्सियल डाइरेक्टर पदमा कार्यरत थिए । सार्वजनिक संस्थान निर्देशन बोर्डले खरेल, देवचन्द्रलाल कर्ण र राजिवकुमार थापाको नाम निगमको महाप्रवन्धकका लागि सिफाशिर गरेको थियो ।

सिफारिश गरिएका तीन नाममध्ये विहिवारको मन्त्रिपरिषद् बैठकले खरेललाई नियुक्ति दिएको हो । खरेलले निगममा चार वर्षसम्म महाप्रवन्धको जिम्मेवारी पाउनेछन् । निगमका कार्यकारी अध्यक्ष मनरुप शाहीको उच्च शिक्षासम्वन्धी प्रमाणपत्र छानविन सुरु भएपछि राजिनामा दिएका थिए । शाही बाहिरिएपछि सरकारले निगमका वरिष्ठ कर्मचारीका रुपमा राजुबहादुर के.सीलाई निमित्त महाप्रवन्धकको जिम्मेवारी दिएको थियो ।
खरेलसँग निगमको व्यवस्थापकीय क्षमता सुधार गरेर विमान थप्नुपर्ने चुनौती छ । सरकारले निगमका लागि आन्तरिक उडान गर्न छ वटा र अन्तराष्ट्रिय उडान गर्न दुईवटा गरी आठ विमान किन्ने तयारी गर्दैछ । आन्तरिक उडानका लागि चीनबाट विमान खरिद गर्ने तयारी भैरहेको छ भने अन्तराष्ट्रिय उडानका लागि एयरबससँग खरिद गर्ने प्रक्रियामा छलफल चलिरहेको छ ।

No comments:

Post a Comment