Saturday, December 8, 2012


पर्यटन बोर्ड सञ्चालक समिति बैठक निष्कर्षहीन 
काठमाडौं, १९ मंसिर – लामो समयपछि मंगलबार बसेको नेपाल पर्यटन बोर्ड सञ्चालक समितिको बैठक विनानिष्कर्ष टुंगिएको छ । पाँच महिनाअघि विघटन भएको बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ) छनोट उपसमिति गठनमा कुरा नमिलेपछि पुनः बुधबार बस्नेगरि बैठक स्थगित गरिएको सञ्चालक समिति सदस्य धु्रबनारायण श्रेष्ठले जानकारी दिए ।  श्रेष्ठका अनुसार उपसमिति गठनबारे छलफल भए पनि सञ्चालक समिति सदस्य फुर्वाग्याल्जेन शेर्पा बैठकमा अनुपस्थित रहेका कारण मंगलबार निर्णय हुन नसकेको हो ।
‘उपस्थित (शेर्पा) नभएका कारण मंगलबार कुनै निर्णय भएन’ श्रेष्ठले भने, ‘बुधबार उपसमिति गठनबारे एउटा टुंगोमा पुगिने छ ।’
यसअघि २०६८ पुस २० मा फुर्वाग्याल्जेन शेर्पा, टिकाराम सापकोटा र पम्फा धमला सदस्य रहेको सीइओ छनोट उपसमिति गठन गरिएको थियो । सो उपसमितिविरुद्ध सर्वोेच्च अदालतमा रिट परेको थियो । २०६९ असार २४ गतेको सर्वोच्चले गरेको फैसलाले सो उपसमिति गठनको निर्णय कानुनविपरीत भएकोले विघटन गरी सदस्यद्वय धु्रबनारायण श्रेष्ठ र रेवतबहादुर थापालाई समावेश गर्नुपर्ने अन्तरिम आदेश दिएको थियो । तर, सर्वोच्चको सो अन्तरिम आदेशलाई सदस्यहरुले आ–आफ्नै तरिकाले व्याख्या गरिरहेका छन् ।
निजी क्षेत्रबाट प्रतिनिधित्व गर्ने पम्फा धमला, फुर्वाग्याल्जेन शेर्पा पक्ष र धुव्रनारायण श्रेष्ठ, रेवतबहादुर थापा पक्षबीच एकले अर्कालाई आरोपप्रत्यारोप गर्न गरिरहेका छन् । उनीहरुले सर्वोच्च अदालतले गरेको फैसलालाई आफु अनुकल व्याख्या गर्दै आएका छन् । धमला र शेर्पा पक्षले सीइओ छनोट उपसमिति गठनको विषयमा बस्ने बैठकमा मात्रै श्रेष्ठ र थापाको उपस्थिति अनिवार्य भनी सर्वोच्चले फैसला गरेको दाबी गर्दै आएको छ भने श्रेष्ठ र थापा पक्षले सर्वोच्चको फैसलामा सीइओ छनोट उपसमिति सदस्यमा आफूहरु अनिवार्य रहनुपर्ने उल्लेख गरिएको अडान राखेको छ ।
धमला र शेर्पा पक्षले श्रेष्ठ र थापा बैठकमा नआएकै कारण अहिलेसम्म समस्या सुल्झाउन नसकिएको आरोप लगाउँदै आएको छ । ११ जना सदस्यीय बोर्ड सञ्चालक समितिमा निजी क्षेत्रबाट ५ जना सदस्य रहने प्रावधान छ । सोही पाँच जनामध्ये ३ जना सदस्य रहेको सीइओ छनोट उपसमिति गठन गर्नुपर्ने प्रावधान रहेको छ । तर निजी क्षेत्रको प्रतिनिधित्व गर्नेहरुबीचको बेमेलका कारण सो कार्य अघि बढ्न सकेको छैन । २०६८ कात्तिक १४ गतेदेखि बोर्डका तत्कालिन सीइओ प्रचण्डमान श्रेष्ठको कार्यकाल सकिएपछि अहिलेसम्म बोर्डमा सीइओ छैन ।
अघिल्लो सञ्चालक समितिमा पनि निजी क्षेत्रबाट प्रतिनिधित्व गर्ने गणेश सिंखडा, ङिमी शेर्पेनी पक्ष र ध्रुवनारायण श्रेष्ठ, रेवतबहादुर थापा पक्षबीचको विवाद लामो समयसम्म चल्यो । सीइओ छनोट प्रक्रियाको विषयलाई लिएर सुरु भएको दुई पक्षबीचको विवाद पटक पटक सर्वोच्च अदालतसम्म पनि पुगेको थियो । नयाँ सीइओ आफू अनुकुल बनाउन बोर्ड भित्र र बाहिर विभिन्न चलखेल हुँदै आएको छ । पछिल्लो समयमा पर्यटन मन्त्री र सचिवलाई एसएमएस मार्फतसमेत आफूअनुकुलको व्यक्तिलाई सीइओ बनाउन दबाब दिन थालेको बताइएको छ ।

No comments:

Post a Comment