Saturday, December 1, 2012

राडार मेसिन मर्मत थालिएकाले विमानस्थलको हवाई उडान प्रभावित
१९ ओटा आन्तरिक उडान रद्ध

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, ११ मंसिर
राडार मेसिन मर्मत कार्यले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित भएको छ ।
विमानस्थल व्यवस्थापनले नियमित परिक्षण तालिका अनुसार सोमबारबाट आकासमा उड्ने जहाजलाई दिशा निर्देस गर्ने देखि मौसमको अवस्था र उचाईबारे विस्तृत जानकारी दिने ‘राडार मेसिन’ मर्मतको काम थालेकाले अन्तर्राष्ट्रिय विमानस्थलदेखि मुलुकभरका विभिन्न सेक्टरमा चल्ने आन्तरिक हवाई उडान प्रभावित भएको हो । अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले सो मेसिन मर्मत कार्य आगामी बुधबारबाट मात्र सम्पन्न गर्ने लक्ष्य लिएको छ । मर्मत कार्य थाल्लुअघि विमानस्थल कार्यालयले सबै वायुसेवा कम्पनीहरुलाई नियमित उडान कार्यमा केही असर पर्ने सम्भावनालाई मध्येनजर गर्दै सकेसम्म उडान कटौती गर्न पत्राचार गरि जानकारी गराएको बताएको छ । विमानस्थलको महत्वपूर्ण अँग राडार मेसिन मर्मत–सम्भार कार्यले सोमबार दिनभर विभिन्न रुटमा जाने तयारी अवस्थाका १९ ओटा आन्तरिक उडान रद्ध भएका थिए ।  अधिकाँश उडान डिले हुनुकासाथै कतिपय विमान कम्पनीहरुले आफ्नो नियमित उडान संख्या नै कटौति गरेका थिए । जसका कारण यात्रुहरुले भनेको बेलामा गन्तब्यमा सकेका छैनन् । केही यात्रुहरु उडान नै रद्ध भएपछि विमानस्थलबाट घर फर्कन बाध्य भएका थिए । सो मर्मत कार्यले अन्तर्राष्ट्रिय उडानमा भने कुनै असर नपरेको विमानस्थल कार्यालयले जनाएको छ ।
विमानस्थल कार्यालयका महाप्रवन्धक रतिशचन्द्रलाल सुमनले राडार मेसिनको मर्मत कार्यले अहिले आन्तरिक उडान तर्फ केही प्रभावित भएको बताए । अहिले अन्तर्राष्ट्रिय उडानमा भने कुनै असर नपरेको जानकारी दिँदै महाप्रवन्धक सुमनले भने, ‘ अहिले हामी नियमित तालिका अनुसार राडार मेसिन मर्मत कार्यमा जुटेका छौं , लगातार तीन दिनसम्म मर्मतका काम निरन्तर चल्ने छ ’ । यसबाट आइपर्ने प्रभावका बारेमा आफुले यसअघि नै सबै वायुसेवा कम्पनीहरुलाई जानकारी गराईसकेको बताउँदै उनले भने, ‘ यो सामान्य नियमित तालिका अनुसारको परिक्षण मात्र हो , अहिले राडार मेसिनमा कुनै खराबी छैन ’ ।
सुरक्षित हवाई सेवा र नेपालको परिचय अन्तर्राष्ट्रिय जगतमा उच्च राख्न राडार एन्टीना लगायत विमानस्थल सुधारका कार्यलाई तिब्रताकासाथ अगाडी बढाएको बताए । विगतका वर्षहरुमा रकम अभावले सुधार एवं मर्मतका कार्य हुन कठिन परेको बताउँदै महाप्रवन्धक श्रेष्ठले भने,‘ हवाई सुरक्षामा हिसावले  यसपाली विमानस्थललाई निकै व्यवस्थीत र सुरक्षित बनाइने छ’ ।  उनले राडार मेसिन मर्मत भईरहँदा विमानस्थल व्यवस्थापनले एउटा जहाज र अर्को जहाजबीच १० देखि २० मिनेटको अन्तरमा उडान सञ्चालन गर्दै जानुपर्ने भएकाले अहिले आन्तरिक उडानमा केही समस्या आएको बताए ।
अन्तर्राष्ट्रिय विमानस्थलस्थित आन्तरिक ट्रर्मिनल शाखाका प्रवन्धक पूर्ण चुडालले राडार मेसिन मर्मत कार्यले सोमबार दिनभर विभिन्न रुटकालागि उड्ने तयारीमा रहेका १९ ओटा आन्तरिक उडान रद्ध भएको बताए ।
उनले विहानैदेखि थालिएको मर्मत कार्यले लुक्लाकालागि उड्न लागेका तारा एयरको ८, फाप्लु र भोजपुर विमानस्थल जान लागेका १÷१ ओटो जहाजको उडान रद्ध भएको बताए । यसैगरी बुद्ध एयरका पोखरा जान लागेका ३, सिमराको ३ र भोजपुर–जनकपुर जान लागेका ९ ओटा गरी साँझसम्म १९ ओटा उडान रद्ध भएको जानकारी दिए । उनले दिनभर अधिकाँश आन्तरिक उडान ढिलोगरि सञ्चालन गर्नुपरेको बताए ।
आकासमा उडेको जहाज कुन दिशामा कति दुरीमा रहेको छ भन्ने जानकारी राख्ने राडार मेसिन मर्मत कार्यले आन्तरिक उडान मात्र प्रभावित भएको बताए । दुई वर्ष अघि २०६७ साल २६ चैतदेखि १५ दिनभन्दा बढी समय लगाएर राडार मेसिन बनाउँदा पनि विमानस्थलको हवाई उडान यस्तै प्रभावित भएको थियो ।
उनले सुरक्षाको दृष्टिलाई मध्यनजर गरि  आफुहरुले अझै आन्तरिक उडान तर्फ धेरै उडान कटौती गरेको बताए । 
हवाई सुरक्षाको दृष्ट्रिले राडार मेसिन नियमित सुचारु हुनुपर्ने कार्य एकदमै महत्वपूर्ण भएपनि विमानस्थल कार्यालयले जडान भएको १२ वर्षसम्म र्ममत सम्भार गरेको थिएन । राडार मेसिनको मर्मत–सम्भार कार्य कम्तीमा हरेक ६÷६ वर्षमा हुनुपर्नेमा सो नभएकाले अहिलेको पर्यटकीय मौसममा बाध्य भएर उडान कटौती गर्नुपरेको नीजि विमान सेवा सञ्चालकहरुको गुनासो छ ।
हाल सञ्चालित विमानस्थलको राडार मेसिन सन १९९८ मा जापानले जडान गरिदिएको हो । सो मेसिन मर्मत गर्न जापानका तोसिवा कम्पनीका प्राविधिकहरु यहाँ कार्यरत छन । सो मेसिन मर्मतकालागि करिब एक अर्ब भन्दाबढी रकम खर्च भएको थियो । यस राडार मेसिन तोसिबा कम्पनीको हो ।

No comments:

Post a Comment