Saturday, December 8, 2012

खाडी मुलुक जाने कामदारलाई हवाई टिकट पाउन कठिन
दिल्ली र मलेसियामा दोब्बर तिर्दापनि छैन

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ,१८ मंसिर 
अहिले साउदी अरब, कतार, युनाइटेड अरब इमिरेट्स (युएई) र ओमान, बहराइन , मलेसिया लगायतका खाँडी मुलुकमा जाने कामदारलाई हवाई टिकट पाउनै मुस्कील भईरहेको छ । विगत एक महिना देखि खाँडी मुलुक हुँदै अन्तर्राष्ट्रिय उडान सेवा सञ्चालन गर्दै आएका विमान कम्पनीहरुले भनेको बेलामा हवाई टिकट उपलब्ध गराउन नसकेकाले वैदेशिक रोजगारीका लागि खाँडी मुलुक जाने कामदारहरु निकै मर्कामा परेका छन । यदि टिकट पाईहालेपछि धेरै पैसा तिर्नुपर्ने र विमान कम्पनीहरुले पनि सस्तो टिकट होल्ड गरि विक्री नै नगर्ने प्रबृद्धि बढेकाले भनेको बेलामा टिकट पाउनै मुस्कील भएको उनीहरुको गुनासो छ । 
जसका कारण अहिले विभिन्न जिल्लाबाट श्रमका लागि कतार, मलेसिया, साउदी अरब  लगायतका मुलुकमा जाने तयारीमा रहेका सर्बसाधारण राजधानीमै अलपत्र परेका छन । भनेको बेलामा टिकट नपाएकै कारण दसैं,तिहार र छठपर्व मनाउन घर आई पुनः फर्कने नेपाली यात्रुहरु समेत राजधानीमा अलपत्र परेका छन ।
वर्षकै सबैभन्दा उत्कृष्ट पर्यटकीय मौसम सेक्टेम्बर, अक्टोबर र नोभेम्वर महिनामा विभन्न मुलुकबाट नेपाल भ्रमणमा आएका पर्यटक फर्कने अत्यधिक भिड, विदेशबाट घर विधामा आएकाहरु पुनः काममा फर्कनेहरुको चाप र बजेट एयरलाइन्सहरुले पनि पिक सिजनमा भाडा बृद्धि गर्ने क्रम बढेकाले अहिले खाँडी मुलुकमा जाने कामदारलाई टिकट पाउन मुस्कील भएको सम्बन्धीत व्यवसायीहरुको भनाई छ ।
उनीहरुले अहिले राम्रो पर्यटकीय मौसम, दसैं–तिहार, छठ लगायतका चार्ड मान्न लामो समय देखि विदेश बसेकाहरु घर विधापछि पूनः र्फकने गरेको र बजेट एयरलाइन्सहरुले पनि चाप बढेको बेला धेरै भाडा लिने र अफ सिजनमा ज्यादै सस्तो फेयरमा टिकट विक्री गर्ने प्रबृद्धि बढेकाले खाडी मुलुकतर्फ जाने नेपाली कामदारले यस्तो समस्या भोग्नुपरेको बताएका छन ।    ति व्यवसायीहरुले अझै  छिमेकी मुलुक भारतको दिल्ली हुँदै खाँडी मुलुक जानका लागि पनि टिकट पाउनै मुस्कील भएको बताएका छन ।
नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस ( नाट्टा)का प्रथम उपाध्यक्ष मधुसुदन आचार्यले नाट्टाले धेरै वर्ष पहिले देखि नै वैदेशिक रोजगारीमा जाने कामदारले भोग्दै आएका हवाई टिकटको समस्या समाधान गर्ने उपाएबारे सरकारी पहल हुनुपर्ने आवाज उठाउँदै आएको बताए ।
उनले अझै राष्ट्रिय ध्वजाबहाक नेपाल वायुसेवा निगम बलियो नभएको र विदेशी विमान कम्पनीहरुले एकतर्फि रुपमा मनपरी भाडा असुल्ने प्रबृद्धि बढेकाले वैदेशिक रोजगारीमा जानेहरुले पर्यटकीय मौसममा हरेक वर्ष यस्तै समस्या भोग्नुपरेको बताए । नाट्टाले नेपाली यात्रुलाई सहुलियत हवाई टिकट उपलब्ध गराउन निकै प्रयास गरेको जानकारी दिँदै आचार्यले भने, ‘ विदेशमा पुगेर श्रम बेच्ने कामदारले पठाएको रेमिट्यान्सबाट राज्य सञ्चालन भईरहेका बेला घरखेत बन्दकी राखेर विदेशिने श्रमिकले पनि बढी भाडा तिरेर जानुपर्ने बाध्यात्मक अवस्था एकदमै दुःखद हो’ । उनले सरकारले यस समस्यामा चासो नदिएकाले नेपाल उडान भर्ने सबै अन्तर्राष्ट्रिय कम्पनीका जहाजले दिल्लीबाट भन्दा यहाँबाट दोब्बर भाडा लिएर यात्रु ठग्ने गरेको बताए । स्वदेशी जहाज कमजोर भएको मौकाछोपी अन्तर्राष्ट्रिय कम्पनीहरुले दिल्लीबाट युरोप जाने ८ घण्टाको उडान र यहाँबाट खाडी तर्फको ३ घण्टाको उडानमा पनि उत्तिकै भाडा लिने कार्य एकदमै ज्यादतिपूर्ण भएको उनको भनाई छ ।  
नाट्टाका पूर्व अध्यक्ष एवं गण्डकी टुर एण्ड ट्राभलका प्रवन्ध निर्देशक रामकाजी कोनेले विगत एक महिनादेखि  खाँडी मुलुकमा टिकट पाउन मुस्कील भएको बताए । उनले अहिले दिल्ली र मलेसियाकालागि हवाइ टिकट पाउन निकै कठिन भएको बताए । अहिले दिल्ली जाने १० हजारको टिकटलाई २३ हजार तिर्छु भन्दापनि नपाउने अवस्था भएको उनले जानकारी दिए । काठमाडौबाट सिधा कतार उडान भर्दै आएको मुलुकको राष्ट्रिय ध्वजावहाक निगमले आफुसँग भएको जहाजको  नियमित उडान सञ्चालन गर्न नसकेका कारण पनि  अहिले वैदेशिक रोजगारीमा जानेहरुले हवाई टिकट अभावको समस्या भोग्नुपरेको जानकारी गराउँदै उनले अहिलेको बढ्दो पर्यटकको चाप र यहाँबाट विदेशिनेहरुको भीडले यस्तो कठिनाई भोग्नुपरेको बताए ।
‘विदेशी पर्यटकको चाप र अहिले जानेहरु मध्ये धेरैले उत्तैबाट हवाई टिकट बनाएर ल्याउने गरेकाले नयाँ टिकट अभाव भएको हो ’ उनले भने ।
उनले हरेक वर्ष सेक्टेम्बर देखि डिसेम्बरसम्म सो चाप बढ्ने बताए । हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मुलुकको एकमात्र राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम लगायत २८ ओटा अन्तर्राष्ट्रिय विमान कम्पनीहरुले खाडी मुलुक सहित विभिन्न मुलुकमा नियमित उडान भरिरहेका छन । सम्बन्धीत व्यवसायीका अनुसार अहिले सबै विमान कम्पनीहरुको सिट भरिएका छन ।
हेरिटेज कनेक्सन टुर एण्ड ट्राभलका प्रवन्ध निर्देशक श्याममदन केसीले  टिकट अभाव भएका कारण अहिले कतार एयरबाट दोहा जानेले १८हजार ५ सय  देखि २५ हजार रुपैयाँसम्मका सस्तो इकोनोमी टिकटलाई ३५ हजार रुपैयाँसम्म तिर्नुपर्ने बाध्यता रहेको बताए ।
हाल विमान कम्पनीहरुले सस्तो टिकट होल्ड गर्ने क्रम बढेकाले वैदेशिक रोजगारीमा जाने कामदारले भनेको बेला टिकट पाउनै मुस्कील भएको जानकारी दिँदै उनले बढी डलर तिर्ने यात्रु खोज्दाखोज्दै कुनै दिन त जहाजको आधा सिट खाली हुँदै उड्ने गरेको बताए ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष बलबहादुर तामाङले पुनः काममा फर्कनेहरुलाई भन्दापनि नयाँ जानेहरुले मात्र टिकट अभावको समस्या भोग्नु परेको बताए । विदेश बसेर पुनः काममा फर्कनेहरुलाई सबै रोजगारदाता कम्पनीहरुले आवत–जावत दुबैतर्फि टिकट उपलब्ध गराउने भएकाले कुनै समस्या नहुने बताउँदै तामाङले भने, ‘यहाँबाट पहिलोपटक जाने कामदारले मात्र यस्तो समस्या भोग्नुपरेको हो’ ।

No comments:

Post a Comment