Thursday, November 3, 2011

अक्टोबरमा पर्यटक ७३ हजार नाघे


काठमाडौं, कार्तिक १७ - अक्टोबर (असोज/कात्तिक) मा हवाई मार्ग भएर आउने पर्यटकको संख्या उच्च वृद्धि भएको छ । यसअघिका कुनै वर्षको अक्टोबरमा नआएको संख्यामा यसपालि विदेशी पाहुना आएका छन् । त्रिभुवन विमान स्थल, अध्ययामन कार्यालयका अनुसार यो महिना ७३ हजार २ सय ६४ पर्यटक नेपाल भित्रिए ।
'नेपाली पर्यटनको इतिहासमै यो मौसमको उच्च संख्या हो,' नेपाल पर्यटन बोर्डका प्रवक्ता आदित्य बरालले भने, 'यसले नेपाली पर्यटनको छवि बाह्य मुलुकमा सुधारिँदै गएको प्रस्ट पार्छ ।' यसपालिको आगमन सन् २०१० को यही अवधिको तुलनामा १६ दशमलव ८ प्रतिशत बढी हो ।
बंगलादेश, श्रीलंका, मलेसिया, चीन, ताइपेई, फ्रान्स, नेदरल्यान्ड, अस्ट्रेलिया, न्युजिल्यान्ड र क्यानडाबाट आउने पाहुना घटे पनि यसले कुल आगमनमा प्रभाव पार्न सकेन । फ्रान्स, बंगलादेश र श्रीलंकाली घट्नुले पर्यटन क्षेत्रमा दीर्घकालीन प्रभाव पर्न सक्ने निजी व्यवसायीहरू बताउँछन् । 'यी क्षेत्रमा प्रभावकारी प्रवर्द्धन नहुनु आगमन घट्नुको कारण हो,' गण्डकी टुर्स एन्ड ट्राभलका रामकाजी कोनेले भने, 'अहिलेको वृद्धिले २०११ को लक्ष्य नजिक पुग्न सकिन्छ भन्ने आशा भने जागेको छ ।'
यो वर्षको पहिलो १० महिनामा ४ लाख ४३ हजार १ सय पुगेको छ । सन् २०१० को वर्षभरिको आगमनमा दस महिनाको आगमन ५ हजार संख्याले मात्र कम छ । 'डिसेम्बरसम्म पौने ६ लाख हवाई मार्गबाट मात्र आउलान्,' उनले भने, 'नाकाबाट समेत आउनेको संख्या जोड्दा पर्यटक संख्या ८ लाखको हाराहारीमा पुग्न सक्छ ।'
यो महिना पनि भारतीय र चिनियाँ पर्यटकको आगमन उल्लेख्य छ । भारतबाट अघिल्लो वर्षको तुलनामा २६ दशमलव २ प्रतिशत बढी पर्यटक आएका छन् । अध्यागमनका अनुसार भारतीय पाहुनाको संख्या ९ हजार ७ सय २७ छ । दस महिनामा आउने कुल भारतीयको संख्या भने १ लाख २१ हजार ९ सयभन्दा बढी छ । त्यस्तै १० महिनासम्मको कुल आगमनमा चिनियाँको संख्या ३४ हजार ८ सय नाघेको छ ।
अक्टोबरमा मात्र करिब ५ हजार ४ सय चिनियाँ आएको तथ्यांक छ । यो सन् २०१० को अक्टोबरभन्दा दोब्बर बढी हो ।
यी दुई मुलुक बाहेक बढी पर्यटक आउने मुलुकमा बेलायत, जर्मनी र अमेरिका छ । यहाँबाट क्रमशः ६ हजार २ सय, ६ हजार र ५ हजार ६ सयभन्दा बढी पर्यटक आए । त्यस्तै फ्रान्सबाट ५ हजार ४ सय ३४ र अस्ट्रेलियाबाट २ हजार ५ सय पर्यटक नेपाल आएको अध्यागमनले जनाएको छ ।
'पर्यटन बोर्डमा राजनीति हाबी’
काठमाडौं- पर्यटन वर्ष कार्यान्वनको जिम्मेवारी पाएका पदाधिकारीले नै राजनीति हाबी भएका कारण प्रवर्द्धनको कार्यक्रम प्रभावकारी नभएको आरोप लगाएका छन् । वर्ष सकिन दुई महिना अघि मात्रै पत्रकार सम्मेलन गरी जिम्मेवार अधिकारीको उक्त भनाइ आएको हो ।
सचिवालय राष्ट्रिय संयोजक योगेन्द्र शाक्यले पर्यटन बोर्डभित्र राजनीति हाबी भएकाले २०११ को मुख्य काम 'अन्तर्राष्ट्रिय प्रवर्द्धन' हुन नसकेको बताएका हुन् । यसअघि सार्वजनिक खरिद नियमावली अनुसार काम नभएको भन्दै मन्त्रालयले भारत र चीनमा गरिने प्रवर्द्धन गर्न बोलपत्र आह्वान गर्न निर्देशन गरेको थियो ।
बारम्बार आउने अवरोधले बाह्य सञ्चार माध्यम र एजेन्सीमा नेपालको छवि बिग्रने सचिवालय, प्रचारप्रसार समितिका रन्जित आचार्यले बताए ।
सरकारले 'कन्ज्युमर मार्केट' मा प्रवर्द्धनका लागि चालू आर्थिक वर्षको बजेटमा १३ करोड रुपैयाँ विनियोजन गरेको छ । यसमध्ये ६ करोड भारत र ३ करोड चीनका लागि छुट्टयाइएको छ । यी बाहेक अन्य रकम विभिन्न सञ्चार माध्यमद्वारा अन्य बजारमा लगाउने तयारी थियो ।
यसैबीच अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन वर्ष २०११ को कार्यक्रम रोक्न कुनै निर्देशन नदिएको जनाएको छ । 'पर्यटन बोर्डभित्र कुनै एक अधिकारी विरुद्ध उजुरी परेको थियो,' आयोगका प्रवक्ता ईश्वरी पौडेलले भने, 'त्यसैको फाइल मगाएर अनुसन्धान गर्न खोजिएको हो, प्रवर्द्धन कार्यक्रम रोक्न भनिएको छैन ।' उनका अनुसार गलत बुझाइका कारण समस्या उत्पन्न भएको हो । पर्यटन सचिव गणेशराज जोशीले पर्यटन वर्षको सबै कार्यक्रम रोक्न निर्देशन आएको बुझाइका साथ आयोगलाई २०११ का कार्यक्रम सम्बन्ध के गर्ने भनेर पत्र पठाएका थिए । प्रत्युउत्तरमा आयोगले कार्यक्रम रोक्न निर्देशन नदिइएको प्रस्ट पार्दै बुधबार पर्यटन मन्त्रालयमा पत्राचार गरेको छ ।

No comments:

Post a Comment