Saturday, November 12, 2011

कोरियाबाट १ हजार बढी नेपाली फर्कनुपर्ने


काठमाडौँ, २६ कात्तिक– कामदार अनुमति प्रणाली (इपीएस) अन्र्तगत दक्षिण कोरिया गएका करिब एक हजार नेपाली कामदार आगामी केही महिनाभित्र नेपाल फर्कनुपर्ने भएको छ ।
सन् २००८ को अगष्टदेखि डिसेम्बरसम्म कोरिया पुगेर जागिर लागेका नेपाली कामदारहरु आफ्नो निर्धारित ३ वर्षे समय पूरागरी नेपाल फर्किनुपर्ने भएको छ । कोरिया सरकारले निर्धारित समय पूरा गरेका कामदार नफर्किए नयाँ लिन नसक्ने र यसले नेपाल कोरियाबीचको श्रम सम्बन्धमा असर पर्ने चेतावनी दिएको छ ।
इपीएस नेपाल कार्यालया प्रमुख महेश आचार्यले निर्धारित समय पूरा गरेका कामदार नेपाल नफर्किए आगामी वर्ष कोरिया जान लागेका १५ हजार नयाँ कामदारलाई असर गर्ने बताउनुभयो । सन् २००८ को ब्याचमा कोरिया पुगेका नेपाली श्रमिकहरु नेपाल फर्किएपछिमात्र सन् २०१२ का लागि छानिएका नेपालीहरु लैजाने प्रक्रिया सुरु हुने दक्षिण कोरियाका ग्लोबल वर्कफोर्स युनिटका उपाध्यक्ष नाम इल किमले बताइसकेका छन् । एक महिनाअघिमात्र किम नेपाल भ्रमणमा आएका थिए ।
कोरियाले नेपाली कामदारलाई पहिलो प्राथमिकतामा राखेपनि पहिलेका कामदार कोरियामै लुकेर बस्लान कि भन्ने कुरामा चिन्तित र चनाखो देखिन्छ । केही वर्र्षअघिसम्म कोरियामा वैधानिकभन्दा अवैधानिक नेपालीको संख्या बढी रहेपनि इपीएसमार्फत कामदार जाने प्रक्रिया सुरु भएसँगै अवैध नेपालीहरु स्वदेश फर्किने र पुनः इपीएसबाट कोरिया जाने क्रम बढेको थियो । कोरियाले आफ्ना कामदारलाई तोकिएको समयभित्रै फिर्ता ल्याउन दबाब दिँदै त्यसो नभएमा नयाँ कामदार जाने प्रक्रियामै अवरोध हुनसक्ने चेतावनी नेपाललाई दिएको छ

No comments:

Post a Comment