Saturday, November 12, 2011

पाँचतारे होटल कोठा थप्दै


काठमाडौ, कार्तिक  - नेपाल घुम्न आउने विदेशी पाहुनाको संख्या लगातार बढेपछि उपत्यकाका तीनवटा तारे होटलले आफ्नो क्षमता बढाउन थालेका छन् । क्षमता बढाउन याक एन्ड यति, होटल एभरेस्ट र अन्नपूर्णले कोठा थप्न लागेका हुन् । यही 'पर्यटकीय मौसम' अक्टोबरदेखि डिसेम्बरमा आउने सबै पाहुनालाई समेत राजधानीका तारे होटलमा कोठा अपुग हुने ट्राभल ट्रेडका व्यवसायीले बताउँदै आएका थिए ।
'होटलहरूले क्षमता विस्तार गर्नु अहिलेको लागिमात्र नभई भिजन २०२० का लागि पूर्वतयारी हो,' नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल एजेन्टस -नाटा) का अध्यक्ष अर्जुन शर्माले भने । कोठा थप्न लागेका तीन होटलमध्ये अन्नपूर्णले २ सय कोठा थप्ने योजना बनाएको छ । यसका लागि जर्मन आर्किटेक्चर कम्पनीसँग सम्झौता भइसकेको व्यवस्थापनले जनाएको छ । 'उनीहरूको टोली नोभेम्बरमा यहाँ आउँदैछ,' महाप्रबन्धक पारस राणाले भने 'तयार भएको ढाँचा हेरिसकेपछि नयाँ रूप दिन केही पुराना भवन भत्काइनेछ ।' चार वर्षको अवधिमा अन्नपूर्णमा ३ सय ५० कोठा सहित हेल्थ क्लब, स्पालगायतका सुविधा थप गरिने उनले जानकारी दिए । 'अन्नपूर्णलाई अन्तर्राष्ट्रिय डिलक्स पाँचतारेको सूचीमा राख्ने योजनासहित विस्तारको काम गर्ने भएका हौं,' उनले भने, 'सुरुवातमा यस कामका लागि १ करोड रुपैयाँ छुट्याएका छौं । काम हुँदै जाँदा कुल लागत कति पर्छ भन्न सकिँदैन ।'
शान्ति प्रक्रियाको सुरुवातसँगै पर्यटक आगमन बढ्नुले होटल व्यवस्थापन थप लगानीका लागि प्रोत्साहित भएको हो । दरबारमार्गस्थित याक एन्ड यतिले पनि सन् २०१३ भित्र १ सय कोठा थप्ने भएको छ । 'यसअघि १ सय ३० डिलक्स कोठाहरूमा सबै नयाँ फर्निचर लगाएका छौं,' बजार तथा बिक्री निर्देशक भरत जोशीले भने, 'त्यस्तै डिसेम्बरसम्म थप १ सय २० स्टयान्डर्ड रुमलाई पनि नयाँ रूप दिन काम भइरहेको छ ।' हाल २ सय ४६ कोठा रहेको होटलले गरिएको 'रिनोभेसन'का लागि ३ करोड रुपैयाँ लाग्ने उनले बताए । 'दोस्रो चरणमा ४ करोड रुपैयाँ कोठालाई नयाँ रूप दिन खर्च गरिनेछ,' उनले भने । त्यस्तै एभरेस्टले ९० कोठा थप्न काम थालेको छ । 'पाहुना बढेकाले कोठा थप्न बाध्य भएको अवस्था छ,' बिक्री निर्देशक आमिर प्रधानांगले भने, 'हालैमात्र १ सय ६० मध्ये ७० कोठालाई डिलक्समा परिमार्जन गरेका छौं भने सबै कोठालाई नयाँ रूप दिइएको छ ।' यसअघि होटल र्‍याडिसनले पनि १ सय नयाँ कोठा बनाएको थियो । 'यहाँ आउने पाहुनाका लागि आगामी डिसेम्बरदेखि नयाँ कोठाको बुकिङ खुला गर्ने तयारीमा छौं,' पिआर विभागकी कार्यकारी करुणा मानन्धरले भनिन् । 'अहिले यहाँ आउने सबै पाहुनालाई भन्नेबित्तिकै कोठा उपलब्ध गराउन गाह्रो भएको छ,' उनले भनिन् । त्यस्तै सोल्टी होटलले पनि सन् २००९ देखि हालसम्म होटलको विस्तार र नयाँ रूपका लागि सम्पूर्ण काम पूरा हँुदासम्म ४० करोड रुपैयाँ खर्च हुने बताएको छ । '१ सय ३० कोठामा प्रयोग हुने सम्पूर्ण सामान नयाँ जडान भएको छ,' कार्यकारी अध्यक्ष दिनेश बिष्टले भने, 'हाल होटलमा रहेको कफी सपको क्षमतालाई दोब्बर बनाउने काम अन्तिम चरणमा छ ।'

No comments:

Post a Comment