Sunday, April 5, 2015

जिल्ला प्रशासन कार्यालयको निर्देशनले रोकियो संघको साधारण सभा , १५ चैतभित्रै निर्वाचन गर्नुपर्ने मञ्चको दावी

काठमाडौं, १३ फागुन –नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आगामी शुक्रबारका दिन आवहान गरेको साधारण सभा नगर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्देशन गरेको छ । संघका अध्यक्ष हंशराज वाग्लेको नेतृत्व विरुद्ध खनिएका व्यवसायीहरुले २१ जना कार्यसमिति रहेको संघमा ११ जनाले राजिनामा दिएर हाल अपाङ्ग अवस्थामा रुमलिएको संघलाई बैधानिकता दिनकालागि आगामी १५ चैत भित्र साधारण सभा गरि निर्वाचन हुनुपर्ने जिकिर सहित    बुधबार निवेदन दर्ता गरेपछि काठमाडौ जिप्रकाले यस्तो निर्देशन गरेको हो ।
प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरम र वैदेशिक रोजगार व्यवसायी तमुधी लगायतमा आवद्ध व्यवसायीहरुले बुधबार संयुक्त रुपमा जिप्रकामा पुगेर निवेदन दर्ता गराएका थिए । सोही निवेदनका आधारमा जिप्रकाले  संघलाई यस्तो निर्देशन दिएको हो ।
प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका कार्यबाहक अध्यक्ष हरि पाण्डे क्षेत्रीले जिप्रका काठमाडौंले दिएको निर्देशनमा संघले आगामी १५ चैत्र भित्रमा साधारण सभा गरेर निर्वाचन गराउन निर्देशन दिएको बताए । उनले जिल्ला प्रशासन कार्यालयले दिएको सो निर्देशन व्यवसायीहरुले बुधबार संघमा दर्ता गरेको बताए । संघका अध्यक्ष वाग्लेले जिल्ला प्रशासन कार्यालयले तोकेको समय भन्दा अघि नै निर्वाचन गराएको खण्डमा सबै व्यवसायीले त्यसलाई स्वीकार्ने  बताउँदै पाण्डेले भने, ‘ त्यस समयमा पनि साधारण सभा र निर्वाचन नगराएको खण्डमा काठमाडौ जिप्रकाले नै निर्वाचन गराउने छ । त्यो वाताबरण बनाउन दिनु हुदैन’।  उनले यदि अध्यक्ष वाग्लेले सो समयमा निर्वाचन नगराएको खण्डमा व्यवसायीहरुले व्यवसायी भेला बोलाएर निर्वाचन गराउन बाध्य हुने बताए ।  उनले यस अघि आफुले फोरमका प्रतिनिधि संघका अध्यक्ष हंसराज वाग्ले सहित आगामी १३ चैत्र अघि निर्वाचन गराउ, व्यवसायीको मर्म अनुसार अघि बढौं भन्दा वाग्लेले आगामी ५ वैशाख अघि निर्वाचन गर्न नसक्ने भनेकाले व्यवसायी जिप्रका कार्यालयमा जान बाध्य भएको बताए ।  मञ्चका महासचिव राजेन्द्र भण्डारीले सो समयमा प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, वैदेशिक रोजगार लोकतान्त्रिक फोरम र तमुधिको संयुक्त पहलमा संघले साधारण सभा सहित निर्वाचन गराउन र निर्वाचन पछिको निर्णय जानकारी गराउन निर्देशन दिएको बताए । संघका अध्यक्ष वाग्लेले आगामी १५ चैत्रसम्ममा साधारण सभा सहित निर्वाचन नगराए व्यवसायीहरुले व्यवसायी भेला बोलाएर वाग्लेलाई पदच्युत गर्ने महासचिव भण्डारीको भनाई छ । उनले अहिले संघका कारण वैदेशिक रोजगारीकालागि विदेश जाने कामदारका साथै व्यवसायीलाई पनि दैनिक रुपमा समस्या बढदै गएको दावी गरे ।
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका अध्यक्ष प्रज्ञान न्यौपानेले पनि बुधबार जिप्रकाले दिएको निर्देशनलाई फोरमले स्वागत योग्य कदम भएको भनेको बताए । उनले भने,‘ हामी विधिको शासन चाहन्छौ, त्यसैले जिल्ला प्रशासन कार्यालयको निर्देशन अनुसार सबै व्यवसायी अघि बढनु जरुरी छ ।’ उनले अब आफुहरुले काठमाडौ जिप्रकाले दिएको निर्देशन अनुरुप नै संघलाई कानुनी बैधानिकता दिने कार्यमा जुट्ने बताए ।

No comments:

Post a Comment