Sunday, April 5, 2015

कोइरालाको संयोजकत्वमा लोकतान्त्रिक निर्माण व्यवसायी संघ गठन

 काठमाडौ,१८ फागुन –नेपाली कांग्रेस समर्थित व्यवसायीहरुले बि–कोई बिल्डर्सका प्रबन्ध निर्देशक हुमनाथ कोइरालाको संयोजकत्वमा लोकतान्त्रिक निर्माण व्यवसायी संघको तदर्थ समिति गठन गरेको छ । कांग्रेसको निर्माण व्यवसाय समन्वय विभागका संयोजक दीपक गिरीको अध्यक्षतामा आइतबार बसेको बैठकले निर्माण व्यवसायी कोइराला संयोजक तथा विनोद पोखरेल सदस्य सचिव रहने गरी  संघको तदर्थ समिति गठन गरेको हो ।
कुल २७ सदस्यीय सो समितिको सल्लाहकारमा नेपाल निर्माण व्यवसायी महासंघका पुर्व अध्यक्षहरु रमेशकुमार शर्मा, जीपछिरिङ लामा, जयराम लामिछाने र वर्तमान अध्यक्ष शरदकुमार गौचन रहेका छन । तदर्थ समितिले आगामी तीन महिना भित्र विधान बनाई सम्बन्धित् निकायमा संस्था दर्ता गराई सक्नुपर्ने प्रावधान रहेको छ । संस्था दर्ता गर्दा गर्नुपर्ने सम्पुर्ण कार्यका लागि संयोजक हुमनाथ कोइरालालाई अधिकार दिइएको सो समितिले जनाएको छ । संघले सोमबार विज्ञप्ति मार्फत काँग्रेस समर्थित निर्माण व्यवसायीहरुको छुट्टै संघ बनाउनकालागि तदर्थ समिति गठन भएको जानकारी गराएको हो । नेपाल निर्माण व्यवसायी महासंघको गत कात्तिकमा सम्पन्न निर्वाचनमा पनि संयोजक कोइरालाले अध्यक्ष पदकालागि उम्मेदारी दिएको भएपनि अन्तिम अवस्थामा आएर आफ्नो उम्मेदारी नै फिर्ता गरि हाल महासंघका अध्यक्ष शरदकुमार गौचन समुहलाई सहयोग पु¥याएका थिए । महासंघमा काँग्रेस समर्थित गौचन समुहका व्यवसायीलाई बिजयी गराउने कार्यमा आफ्नो उम्मेदारी नै फिर्ता गरेका व्यवसायी कोइरालालाई अहिले काँग्रेस पार्टीले नै लोकतान्त्रिक निर्माण व्यवसायी संघ गठनकालागि आग्रह गरेको कोईरालाको दावी छ । यसैबीच, मुलुकको पुर्वाधार विकासकालागि नेपाली कांग्रेसले लिनुपर्ने हरेक नीति निर्माण सम्बन्धमा छलफल गर्न पनि यस तदर्थ समितिले आगामी केही दिनभित्रै एक कार्यशाला गोष्ठी आयोजना गर्ने भएको छ । सो गोष्ठी आयोजना गर्नकालागि निर्माण व्यवसायीहरु धुर्बराज थापा, हरेराम श्रेष्ठ र शरदकुमार गौचन सहितको छुट्टै तीन सदस्यीय समिति गठन गरिएको पनि सो संघले बताएको छ ।

No comments:

Post a Comment