Sunday, March 2, 2014

व्यावसायिक अनुभवलाई व्यवहारमा उतार्छु


टेकबहादुर गुरुङ, राज्यमन्त्री, श्रम तथा रोजगार
मंसिर ४ मा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फबाट निर्वाचित ५८ वर्षीय टेकबहादुर गुरुङले गत मंगलबार श्रम तथा रोजगार राज्यमन्त्रीको शपथ लिएका छन् । उनले आफूले मन्त्रालयको पदभार सम्हालेपछि सबैभन्दा पहिले अहिले जटिल समस्याका रूपमा रहेको श्रम व्यवस्थान गर्ने कार्यलाई थप व्यवस्थित बनाउन बेरोजगारलाई भत्ता दिलाउने प्रयास थाल्ने बताएका छन् । त्यसपछि हाल सञ्चालित वैदेशिक रोजगारीको क्षेत्रलाई थप व्यवस्थित र मर्यादित बनाउने अठोट लिएका मन्त्री गुरुङ प्रत्यक्षतर्फ विभिन्न दलबाट उठेका व्यवसायी मध्ये नेपाली कांग्रेसको तर्फबाट मनाङ जिल्लाबाट निर्वाचित वैदेशिक रोजगार व्यवसायी हुन् । वैदेशिक रोजगार व्यवसायी नै मन्त्री बनेपछि अब कामदार र व्यवसायीले भोग्दै आएका समस्या सजिलै समाधान हुने अपेक्षा गरिएको छ । वैदेशिक रोजगारीको क्षेत्रलाई थप व्यवस्थित बनाउन सक्ने दाबी उनको छ । मनाङका गुरुङले १ हजार ५ सय २७ मत ल्याएर निर्वाचित भएका थिए । राप्रपा नेपालका अर्का पर्यटन व्यवसायी भुजुङ गुरुङ र राप्रपाका त्रिपाल गुरुङबीच भएको तीव्र प्रतिस्पर्धामा मन्त्री गुरुङले ६ सय १६ मत बढी ल्याएर विजयी भएका थिए । वैदेशिक रोजगारीको क्षेत्रमा देखिएका समस्यालाई आफ्नो पार्टीको तर्फबाट पनि केही गर्न सकिन्छ भन्ने उद्देश्यले उनलाई नेपाली कांग्रेसले मनाङ जिल्लाबाट प्रत्यक्ष उम्मेदवार बनाएर चुनावी मैदानमा उतारेको थियो । यसअघि मन्त्री गुरुङ हिमाल म्यानपावर इम्प्लोइमेन्ट सभिर्सेजका प्रबन्ध निर्देशक थिए । कांग्रेस मनाङ जिल्लाको सभापतिसमेत भइसकेका मन्त्री गुरुङ विगत लामो समयदेखि नै नेपाली कांग्रेसमा सक्रिय थिए । अहिले म्यानपावर कम्पनी, बिचौलिया एवं दलाल एजेन्टहरूबाट वैदेशिक रोजगारीमा जाने कामदार ठगिने क्रम बढीरहेका बेला नवनियुक्त श्रम तथा रोजगार राज्यमन्त्री गुरुङसँग राजधानीकर्मी मधुजंग पाण्डेले गरेको वार्ताको सारसंक्षेप :

० तपाईं वैदेशिक रोजगारीको क्षेत्रमा लामो अनुभव भएको व्यक्ति हुनुहुन्छ, अब पहिलो काम
के गर्नुहुन्छ ?
– मैले आफ्नो पहिलो प्राथमिकतामा युवा बेरोजगारलाई भक्ता दिने कार्यलाई नै राखेको छु । हाल बढ्दो युवा बेरोजगारीले गर्दा गुन्डागर्दी, अशान्ति र राजनीतिक अस्थिरता भएको छ। मुलुकले दक्ष जनशक्ति त्यसै खेर फाल्नुपरेको अवस्था छ । बेरोजगारीको समस्यालाई अहिलेसम्म राज्यले उचित ढंगले सदुपयोग नगरेकै कारण युवाका जोसजाँगर र उर्जा त्यसै खेर गइरहेको छ भने युवाहरूलाई उत्पादनमूलक कार्यमा लगाउन नसकिएकै कारण मुलुकले धेरै आर्थिक क्षति बेहोर्दै आउनुपरेको छ । त्यसैले, मुलुकभर बेरोजगार र रोजगारी पाएकाहरूको आधिकारिक तथ्यांक राख्न पनि मैले बेरोजगार भत्ता दिलाउने कामलाई पहिलो प्राथमिकतामा राखेको हुँ । अहिले मुलुकमा हरेक वर्ष करिब साढे ४ लाख युवा आन्तरिक श्रम बजारमा थपिने गरेकामा मुस्किलले जम्मा १० प्रतिशतले मात्र काम पाएका छन् । अरू सबै बेरोजगार छन् । बेरोजगार भत्ता उपलब्ध गराउन नीतिगत रूपमा नै निश्चित मापदण्ड बनाएर नै अघि बढ्ने प्रयास गर्नेछु । मैले यो कामसँगै श्रम मन्त्रालयअन्तर्गतका हरेक गतिविधिलाई सुधारात्मक रूपमा अघि बढाउने र सेवाग्राहीलाई सहज रूपमा छिट्टो सेवा दिएर अघि बढ्ने कामलाई पनि मुख्य प्राथमिकतामा राखेको छु ।
० तपाईं यो पहिलो काम कसरी थाल्नुहुन्छ ?
– हालसम्म मुलुकभर भएका बेरोजगारहरूको सबै अध्ययन र आधिकारिक तथ्यांक बनाई निश्चित मापदण्ड बनाएपछि मात्र सरकारले यो काम थालनी गर्नेछ । अहिलेसम्म ज्येष्ठ नागरिक भत्ता, अपांग, विधवा र सहिद परिवारलाई दिने भत्तालगायत धेरै शीर्षकमा पैसा बाँडिन्छ भने अब युवा बेरोजगारी भत्ता किन नपाउने रु युवा बेरोजगारी भत्ता पाउने व्यवस्था मिलाउन पनि राज्यले सोच्नुपर्छ । त्यसैले, मैले बेरोजगारी भत्ता दिलाउने कार्यलाई पहिलो प्राथमिकता राखेको हुँ । कुनै पनि कामलाई लक्ष्यअनुरूप सफलतापूर्वक सम्पन्न गर्न व्यवस्थापन, कार्यशैली र कार्य योजनामा भर पर्छ । म मन्त्री पनि कर्मचारीजस्तै जनताले तिरेको करले पालिएको व्यक्ति हुँ । त्यसैले, समयमा हिँड्नुपर्छ, हामी जनताको सेवक हौं । त्यही जनताले तिरेको पैसाले तलब खाएका मान्छेले सेवाग्राहीलाई सकेसम्म छिटो सेवा दिनुपर्छ भन्ने मान्यता मैले लिएको छु । त्यसपछि यस मन्त्रालयअन्तर्गतका विभिन्न निकायलाई सुधारात्मक गतिमा अघि बढाएर जाने प्रयत्न गर्नेछु । यस मन्त्रालयमा भएका सबै कर्मचारीको संयुक्त सहकार्यमा नै अघि बढिनेछ । जसमा सरकारी र निजी क्षेत्रको सहकार्यलाई पनि उत्तिकै महत्त्वका साथ अघि
बढाएर जानुपर्छ ।
० कहिलेदेखि भत्ता दिलाउनुहुन्छ ?
– अहिले म यति बेलादेखि नै दिलाउन सुरु गर्नेछु भनेर यकिन समय तोक्न सक्दिनँ । केही समयको गम्भीर अध्ययन र वस्तुस्थिति बुझिसकेपछि बल्ल नीतिगत रूपमा नै बेरोजगार युवायुवतीलाई भत्ता दिलाउने प्रक्रिया अघि बढाइन्छ । त्यसैले, म अहिले नै समय तोक्न सक्दिनँ सबै प्रक्रिया पूरा गरिसकेपछि मापदण्ड बनाएर सकेसम्म छिट्टै दिलाउने कार्यमा लागिपर्नेछु । अरूले जस्तो मीठो कुरा गर्ने मेरो बानी छैन । म कामै गरेर देखाइदिन्छु । त्यसैले, म सबभन्दा पहिला यो काम गर्छु ।
० अहिले मुलुकभर कति युवा बेरोजगार छन् तपाईंले कुनै आँकलन गर्नुभएको छ ?
– देशभर अहिले कति युवा बेरोजगार छन् भन्ने आधिकारिक एवं यकिन तथ्यांक नै हामीसँग छैन । अहिले सरकारसँग पनि दैनिक आन्तरिक श्रम बजारमा आइरहेका युवा बेरोजगारीको यकिन तथ्यांक नभएको अवस्था छ । त्यसैले, मैले पनि अनुमानको भरमा ठ्याक्कै यति नै छन् भनेर कहाँ भन्न सक्छु र † अहिलेसम्म नेपालमा कति जनाले रोजगारी पाएका छन् रु कतिले बेरोजगारीको हैरानी भोग्न बाध्य छन् रु यसको कुनै आधिकारिक तथ्यांक नै छैन । त्यसैले, मुलुकभर बेरोजगार र रोजगारी पाएकाहरूको आधिकारिक तथ्यांक राख्न पनि मैले बेरोजगार भत्ता दिलाउने कामलाई पहिलो प्राथमिकतामा राखेको हुँ । अहिले मुलुकमा हरेक वर्ष करिब साढे ४ लाख युवा आन्तरिक श्रम बजारमा थपिने गरेकामा मुस्लिमले जम्मा १० प्रतिशतले मात्र काम पाएका छन् । अरू सबै बेरोजगार छन् । बेरोजगार युवाहरूको प्रमुख गन्तव्य वैदेशिक रोजगार बन्दै आएको छ । अहिले दैनिक करिब २ हजार ५ सय युवा वैदेशिक रोजगारमा विभिन्न देश पुग्ने गरेका छन् । यस्तो भयावह स्थितिलाई केही हदमा भए पनि समस्या समाधान गर्न अब राज्यले विभिन्न मापदण्डका आधारमा बेरोजगार युवालाई स्वदेशमै रोजगारी दिने वातावरण बनाउन सक्नुपर्छ ।
० बेरोजगार भत्ता दिने पैसा कहाँबाट कसरी ल्याउनुहुन्छ नि ?
– सरकारले निश्चित मापदण्ड बनाएर नीतिगत रूपमा नै सबै प्रक्रिया पुर्‍याएर काम अघि बढायो भने अनेक प्रयत्न गर्दा पनि स्वदेशमा रोजगारी नपाएर बेरोजगार भएका युवालाई बेरोजगार भत्ता दिने कार्यमा पैसाको कुनै समस्या हुँदैन । जे जसरी भए पनि भत्ता रकम उपलब्ध गराइन्छ । सोही पैसा के–कसरी उपलब्ध गराइन सकिन्छ भन्नेबारे कानुन व्यवसायी, बुद्धिजीवी एवं राज्यसत्ता चलाइरहेका पुराना अर्थविद्सँगको सल्लाह, सहकार्य एवं सुझावका आधारमा बेरोजगार भत्ता दिने रकमको जोह गरिनेछ । युवा बेरोजगारी भत्ता दिने कार्य लागू गरियो भने मुलुकभर कति संख्यामा बेरोजगार छन् भन्ने यकिन तथ्यांक निस्कन्छ । त्यसपछि वार्षिक कति पैसा खर्च हुने हो, सोहीअनुसारको मापदण्ड बनाएर अघि बढ्न सकिन्छ ।
० यस मन्त्रालय तपाईंले नै रोज्नुभएको हो ?
– होइन, मैले आफंैले श्रम तथा रोजगार मन्त्रालय चाहिन्छ भनेर मागेको पनि होइन । रोजेको पनि होइन । मन्त्रिमण्डल विस्तार गर्ने क्रममा भागबन्डा मिलाउँदै गर्दा संयोगवश मैले यस मन्त्रालयको जिम्मेवारी पाएको हुँ । म वैदेशिक रोजगारीको क्षेत्रमा हाल भइरहेको सबै समस्या बुझेको मान्छे भएकाले आफ्नो दललगायत सबैले यस क्षेत्रको समस्या समाधानमा राम्रो ज्ञान होला भनेर मलाई यो जिम्मेवारी दिएको हुनुपर्छ । श्रम मन्त्रालय भनेको जनतालाई रोजगार खोजिदिने मन्त्रालय हो ।
रोजगार भनेको पनि कुनै पनि व्यक्तिको दोस्रो जिन्दगी हो । कुनै पनि मन्त्रालयको काममा सानोठूलो भन्ने हुँदैन । श्रम व्यवस्थापनका लागि महत्त्वपूर्ण भूमिका खेल्ने यो जिम्मेवार मन्त्रालयले अब स्वदेशमा नै रोजगारी दिने काम थाल्नेछ ।
० तपाईं वैदेशिक रोजगार व्यवसायको क्षेत्रमा लामो अनुभव भएको मान्छे हुनुहुन्छ । अब व्यवसायीले भोग्दै आएका समस्या समाधानका लागि कस्तो भूमिका खेल्नुहुन्छ ?
– हो, म वैदेशिक रोजगार व्यवसायीले भोग्दै आएका विविध समस्याबारे राम्रो ज्ञान भएको मान्छे हुँ । अब मैले यस मन्त्रालयको जिम्मेवारी सम्हालेपछि पहिलाको व्यावसायिक अनुभवबाट सिकेका ज्ञान र सीपलाई उचित ढंगले व्यवहारमा उतार्ने प्रयास गर्नेछु । अब म वैदेशिक रोजगारीमा जाने युवा पनि नठगिऊन् र व्यवसायीलाई पनि कुनै पीडा नपरोस् भनेर काम गर्छु । जुन मान्छेसँग म्यानपावर कम्पनी र वैदेशिक रोजगारीको क्षेत्र के–कसरी सञ्चालित हुन्छ भन्नेबारे राम्रो अनुभव छ, उसैले विकृतिविसंगति रोक्न सक्छ भन्ने अपेक्षा अहिले मबाट धेरैले गरेका छन । म सोही अपेक्षाअनुरूप नै अघि बढ्नेछु । म सधैं कामदार र व्यवसायीको हितमा नै अघि बढ्नेछु । वैदेशिक रोजगारीमा जाने कामदार र पठाउने म्यानपावर व्यवसायीले भोग्दै आएका समस्या समाधान गरी वैदेशिक रोजगारीमा भइरहेका ठगी नियन्त्रणमा पनि ध्यान दिनेछु ।
० श्रम सहचारी नियुक्ति गर्ने कार्यलाई के गर्नुहुन्छ नि ?
– यस विषयमा अहिले नै म केही भन्न सक्दिनँ । मन्त्रालयबाट अहिलेसम्म भइरहेका सबै गतिविधि बुझेपछि मात्र श्रम सहचारी नियुक्ति गर्ने काममा भइरहेका थप गतिविधिबारे जानकारी दिन सक्छु । अहिले मलाई यस विषयमा भने खासै जानकारी छैन । श्रम सहचारी नियुक्ति गर्ने काम प्रक्रियागत ढंगले नै अघि बढ्नेछ । म यस विषयमा धेरै नै सोच विचार गरेर अघि बढ्नेछु । म कसैको दबाब र बहकाउमा अघि सर्ने मान्छे होइन ।
मन्त्रालयअन्तर्गतका विभिन्न निकायबाट आन्तरिक रूपमा भइरहेका सबै कामबारे सबै जानकारी दिएर अघि बढ्नेछु । मैले दुईदेशीय श्रमसम्झौतालाई पनि प्राथमिकता दिनेछु । अहिलेसम्म नेपाल सरकारले श्रम सम्झौता गर्न बाँकी रहेका देशमा तत्काल श्रम सम्झौता गर्ने कार्य प्राथमिकताका साथ अघि बढाउने कार्यमा पनि मन्त्रालयले प्रयत्न गर्नेछ । दुईदेशीय श्रम सम्झौता नहुँदा कतिपय देशमा वैदेशिक रोजगारीका लागि गएका नेपाली कामदारले दुःख पाएका छन् । त्यसैले, सरकार त्यस्ता देशमा तत्काल श्रम सम्झौताको पक्षमा रहेको छ ।
दुई देशबीच श्रम सम्झौता भए रोजगारीका लागि विदेशमा गएका कामदारले दुःख पाउनेछैनन् । अहिले केही देशमा श्रमसम्झौता नहुँदा कामदारसँगै व्यवसायीले समेत समस्या भोग्नुपरेको छ । कामदारको संख्यामा श्रम सहचारी राख्ने हो भने त्यस्ता देशमा रोजगारीका लागि जाने कामदार अलपत्र पर्ने समस्या अन्य हुनेछ । श्रम सम्झौता नभए पनि त्यो देशमा श्रम सहचारी भए वैदेशिक रोजगारीमा गएका कामदारका समस्या समाधानको प्रभावकारी काम हुन सक्छ ।

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, को एक प्रतिनिधि हुँ इमेल: (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। जरुरी ऋण जानकारीको लागि (adams.credi@gmail.com): सम्पर्क इमेल
    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete