Saturday, May 10, 2014

३३ महिनामा १३ हजार कामदारलाई जेलमुक्त गराएको दाबी

काठमाडौं, १६ वैशाख –साउदी अरबका लागि नेपाली राजदूत उदयराज पाण्डेले आफूले दूतावसमा कार्यभार सम्हालेको ३३ महिनाको अवधिमा विभिन्न अभियोगमा बन्दी जीवन बिताइरहेका कुल १३ हजार २ सय २७ जना कामदारलाई साउदीस्थित जेलबाट छुटाएर स्वदेश पठाएको बताएका छन् । मंगलबार राजधानीमा आयोजित ‘साउदीको रोजगारी, स्वस्थ्य परीक्षण र भावी रणनीति’ विषयक छलफल कार्यक्रममा राजदूत पाण्डेले दुई वर्ष नौ महिनाको अवधिमा १३ हजार २ सय २७ जना कामदारलाई साउदीस्थित जेलबाट छुटाएर स्वदेश पठाएको बताएका हुन् । उनले सोही अवधिमा साउदीबाट विभिन्न समस्यामा परी अलपत्र परेका कुल ९ सय ४८ जना नेपाली महिला कामदारको उद्धार गरेको पनि जानकारी दिए । उनले सोही अवधिमा १ सय ७० ओटा कामदारको शव दूतावासको पहलमा स्वदेश पठाएको पनि जानकारी दिए । यसैगरी, १ हजार ७ सय ६० ओटा उजुरी दूतावासमा परेकामध्ये अधिकांशको समस्या दूतावासले समाधान गर्न सफल भएको समेत जानकारी गराए ।  उनले ३३ महिनामा मृत्यु भएकाको शव स्वदेश पठाउने कार्यलगायत विभिन्न कारणले समस्यामा परेका नेपाली कामदारको उद्धार कार्यका लागि १६ करोड रुपैयाँ क्षतिपूर्ति रकम दिएको पनि बताए । सो रकम दूतावासमार्फत आफ्ना नागरिकलाई विभिन्न समयमा क्षतिपूर्तिमार्फत उपलब्ध गराइएको बताउँदै राजदूत पाण्डेले भने, ‘अहिले साउदीमा करिब ६ लाख नेपाली कामदार कार्यरत छन् ।’ यो संख्या थप बढ्ने क्रममा रहेको पनि उनले जानकारी दिए । साउदीमा अहिले नेपालीसँगै फिलिपिनी कामदार रहेको जानकारी गराउँदै उनले अहिले दूतावासमा सेवाग्राहीको चापअनुसार कर्मचारी अभाव भएको बताए । हाल मासिक ५ हजार कामदारले पुरानो राहदानीबाट मेसिन रिडेबल पासपोर्ट (एमआरपी) बनाइरहेकाले दूतावासका कर्मचारीलाई काम गर्न निकै समस्या भइरहेको बताए । सातामा सातै दिन बिहान ४ देखि राति ७ बजेसम्म दूतावास खोलेर भए पनि अहिले जम्मा १९ जना कर्मचारीले सेवाग्राहीको काम गरिरहेको दाबी गरे । उनले अहिले साउदी अरबमा महिनामा करिब २५ जनाको दुर्घटनालगायत विभिन्न  कारणले मृत्यु भइरहेको समेत जानकारी गराए । रोजगार मिडिया प्रालिद्वारा आयोजित सो कार्यक्रममा श्रम तथा रोजगार मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठ, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव कमल तामाङ, नेपाल स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष प्रवीण तिवारी र वरिष्ठ उपाध्यक्ष कैलाश खड्कालगायतले  साउदीमा नेपाली कामदार पठाउने सन्दर्भमा हाल नेपाली कामदार र व्यवसायीले भोग्दै आएका समस्याका बारेमा विभिन्न धारणा राखेका थिए।       

No comments:

Post a Comment