Saturday, May 31, 2014

तत्काल क्यासिनो सञ्चालन नगरे शसक्त आन्दोलन गर्ने मजदुरको चेतावनी

काठमाडौं,७ जेठ–क्यासिनोमा कार्यरत दश हजारभन्दा बढी मजदुरहरुले तत्काल क्यासिनो सञ्चलान नगरे सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । उनीहरुले सरकारले एकलौटी ढंगले क्यासिनो नियमावली जारी गरेकाले यो समस्या उत्पन्न भएको भन्दै यस समस्या समाधानकालागि सरकार र क्यासिनो सञ्चालकलाई संयुक्त रुपमा आग्रह गरेका छन् ।
संयुक्त श्रमिक संघर्ष समितिद्धारा बुधबार राजधानीमा आयोजितपत्रकार सम्मेलनमा उनीहरुले क्यासिनो व्यवसायी र सरकारवीच सार्थक वार्ता नभएका कारण आफुहहरु गम्भिर मारमा परेको बताएका हुन । हाल विभिन्न क्यासिनोमा कार्यरत श्रमिकहरुको अवस्था अत्यन्तै नाजुक भइ भोकभोकै भौतारिन बाध्य भएकाले सम्पूर्ण श्रमिकहरुको संयुक्त संघर्ष समिति निर्माण गरि आन्दोलनकोे कार्यक्रम घोषणा गर्न बाध्य भएको उनीहरुको भनाई छ । उनीहरुले नवीकरण एवं रोयल्टीको बहानामा क्यासिनो व्यवसाय बन्द गर्दा अहिले सबै श्रमजिवीहरु मारमा परेको र लाखौं श्रमिकहरुको रोजीरोटी खोसिएको भन्दै अब आफ्ना माग पुरा नभए शशक्त आन्दोलन गर्ने चेतावनी दिएका हुन ।
एमाले निकट नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेष्टुँरा संघका अध्यक्ष सूर्य कुँवरले श्रमिकहरुलाई बैकल्पिक बाटो नदेखाइ सिधै क्यासिनो बन्द गर्दा आफूहरु मारमा परेको बताए । उनले भने,‘सरकार र क्यासिनो सञ्चालकवीचको झगडाले हामी श्रमिकहरु मारमा परेका छौं । यसो गर्दा हामी प्रत्यक्ष रोजगार गरेर बसेका आम श्रमिकहरु मात्र पीडित नभएको बरु हाम्रा परिवार पनि भोगभोकै हुने अवस्था आएको छ । यो किमार्थ हाम्रो हितमा छैन्’ । उनले तत्काल क्यासिनो सञ्चालन गर्ने वातवारण दुवै सरोकारवालाहरुले बनाउनुपर्छ र आम श्रमिकहरुको समस्यालाई सम्बोधन गर्नुपर्ने बताए । 
एमाओवादी निकट अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुँरा मजदुर संघका अध्यक्ष प्रकाश श्रेष्ठले आम श्रमिकहरुको समस्या दिनप्रति दिन भयावह भएको भन्दै तत्काल क्यासिनो सञ्चालन गरि श्रमिकहरुले काम गर्ने वातावराण बनाउनुपर्ने बताए । उनले अहिले ठूलो मात्रामा युवा शक्तिहरु यतिवेला विदेश पलायन भएको हुँदापनि  आफुहरु स्वदेशमै बसेर श्रम गरीरहेका थियौं, तर अब आफुहरुलाई पनि विचल्ली बनाउने काम सरकारले गरेको बताए ।  सरकारले कुनै पनि वैकल्पीक बाटो नै नअपनाई एक्कासी क्यासिनो बन्द गराउँदा त्यसको मार प्रत्यक्ष रुपमा  क्यासिनो श्रमिकहरुलाई परेको बताउँदै उनले भने, ‘खोई त ? यसमा सरकारको ध्यान जान सकेको ’। उनले अहिले सरकार कानमा तेल हालेर सुतेको देख्दा निकै अचम्म लागेको बताए ।
काँग्रेस निकट नेपाल पर्यटन होटल क्यासिनो तथा रेष्टुँरा संघका अध्यक्ष खेमराज खड्काले क्यासिनोमा देखिएको अहिलेको समस्यालाई कसैले पनि गम्भिर रुपमा नलिएकोले यो कुनै वेला पनि बिस्फोटन हुन सक्छ, त्यसैले यसको क्षतिपूर्ति दुवै सरोकारवालाले बेहोर्नु पर्ने बताए । ‘राज्य रोयल्टी नतिरेको कारण क्यासिनो बन्द भएको भन्छ, तर हामी श्रमिकहरुले आफ्नो पारिश्रमीक नपाएको कुरा कसैले पनि गरेका छैनन्’ उनले भने ।  उनले वषौंदेखि काम गरिरहेको क्यासिनो सरकारले एक्कासी बन्द गराउँदा अहिले आफूहरुसँग आन्दोलन गर्नुको विकल्प केही नभएको बताए ।
सबै क्यासिनो मजदुरहरुको संयुक्त संघर्ष समितिले पत्रकार सम्मेलनमार्फत आन्दोलनको कार्यक्रम पनि घोषण गरेका छन् । उनीहरुले प्रधानमन्त्री कार्यलाय, पर्यटन मन्त्रालय, अर्थ मन्त्रालय, श्रम मन्त्रालय लगायत सम्वन्धित निकायमा ज्ञापन पत्र बुझाउने, साथ–साथै धर्ना दिने, जुलुुस गर्ने, क्यासिनो सञ्चालकहरुलाई संयुक्त रुपमा क्यासिनो सञ्चालनका लागि पत्र लेख्ने, होटल संघका कार्यलयमा तालाबन्दी गर्ने, बिना कारण क्यासिनो बन्द गराएकोमा अदालती बाटो पनि अपनाउने, राष्ट्रिय ट्रेड यूनियन महाँसंघ, अन्तर्राष्ट्रिय ट्रेड युनियन महाँसंघ लगायतका विभिन्न विश्वस्तरीय श्रमिक संगठनहरुसंग ध्यानाकार्षण गराउने लगायत विभिन्न ७ बुँदे संघर्षका कार्यक्रम पनि सार्वजनिक गरेका छन् । सो संघर्ष समितिले श्रमिकहरुले विभिन्न क्यासिनो सञ्चालकहरुबाट पाउनुपर्ने बाँकी बक्र्यौता रकमको विस्तृत विवरण नै प्रस्तुत गरेको थियो । जसमध्ये क्यासिनो अन्नाबाट उपादान बाहेक २० करोड २६ लाख २४ हजार सात सय ४८, क्यासिनो एभरेष्टबाट २३ करोड १७ लाख ९१ हजार पाँच सय ३३, क्यासिनो रोयलबाट २४ करोड ३४ लाख ८० हजार, क्यासिनो स्टारबाट ५ करोड ६४ लाख २५ हजार, क्यासिनो ¥याडबाट १३ करोड ४८ लाख, क्यासिनो भेनसबाट ६ करोड १ लाख २५ हजार ७ सय, क्यासिनो सांग्रिलाबाट ७ करोड ९२ लाख, क्यासिनो माझोङ २ करोड ३० लाख, क्यासिनो पोखरा गा्रण्डबाट ५० लाख, क्यासिनो फूलबारीबाट १ करोड र क्यासिनो नेपाल र एन.आर.सीबाट ९३ करोड रहेको जानकारी पनि सो समितिले दिएको छ ।

No comments:

Post a Comment