Saturday, May 17, 2014

पर्यटन बोर्डको बैंक खाता रोक्का देखि टिम्स कार्ड विक्री बन्दको चेतावनी

काठमाडौ, २३ बैशाख –विगत एक सातादेखि नेपाल पर्यटन बोर्डको नेतृत्व विरुद्ध खनिएका व्यवसायी एवं संयुक्त पर्यटन समन्वय समितिले अब पर्यटन बोर्डको बैंक खाता रोक्का गर्नेदेखि लिएर टिम्स कार्ड विक्री कक्ष बन्द गर्ने सम्मको आन्दोलन थाल्ने भएको छ । 
बोर्ड नेतृत्व विरुद्ध खनिएका आन्दोलनरत पर्यटन व्यवसायी समलग्न संयुक्त पर्यटन समन्वय समितिका संयोजक रमेश धमलाले मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बुधबारदेखि थालिने सात दिने विरोधका कार्यक्रम सार्वजनिक गर्दै टिम्स कार्ड र बैंक खाता रोक्ने सम्मको आन्दालनेको चेतावनी दिएका हुन।  सोमबारको वार्तामा पर्यटन सचिव सुशिल घिमिरेले समस्या समधानतर्फ केन्द्रित हुनुभन्दा पनि धम्कीको भाषा प्रयोग गरेर व्यवसायीलाई तर्साउन खोजेको भन्दै उनले पर्यटन सचिवले निजी क्षेत्रमाथी गरेको व्यवहारका कारण व्यवसायीले आन्दोलन थप चर्काउने निर्णय गरेको बताए । बोर्ड सञ्चालक समितिका अध्यक्षसमेत रहेका सचिव घिमिरे र आन्दोलनरत व्यवसायीवीच पर्यटन मन्त्रालयमा भएको वार्ता बिना निष्कर्ष टुंगिएको थियो । सोही वार्तापछि व्यवसायीले बुधबार ( आज) देखि बोर्डविरुद्ध सशक्त आन्दोलन चर्काउने घोषणा गरेका हुन् ।  आन्दोलनका कार्यक्रम अन्तर्गत बुधबार पर्यटन सचिव घिमिरेलाई सार्वजनिक रुपमा बहिस्कार गरि पर्यटन बोर्डमा धर्ना बस्ने र नेपाल राष्ट्र बैंकका गभर्नर डा.युवराज खतिवडालाई बोर्डको खाता रोक्का गर्न पत्राचार गर्ने निर्णय गरिएको छ । बोर्डको पैसाको दुरुपयोग भएको हुँदा रोक्नै पर्ने बाध्यता रहेको समितिका संयोजक धमलाले जानकारी गराए ।सो समितिका अनुसार  बिहीबार विभिन्न स्थानमा भेला हुनुका साथै ठमेलबाट जुलुस निकाली बोर्डमा आएर धर्ना तथा विचार गोष्ठी कार्यक्रम गर्ने गरिने छ ।  त्यसैगरि, शुक्रबार  विभिन्न पार्टीका सभासद्, पार्टीका पर्यटन विभागका प्रमुखहरु, नेपाल चेम्बर अफ कमर्शमा आवद्ध व्यवसायीहरुसहितले पर्यटन बोर्डमा धर्ना दिने कार्यक्रम तय गरिएको छ । आगामी २७ बैशाखमा पर्यटकलाई बिक्री गर्ने टिम्स (एफआईटी)को बिक्री कक्ष बन्द गर्ने र त्यति गर्दासम्म पनि माग सम्बोधन नभए २९ बैशाख बोर्डको अनियमितताबारे स्वेत पत्र जारी गर्ने , ३० बैशाखमा बोर्डमा धर्ना दिनुका साथै पोखरा, चितवन, सुदूरपश्चिमाञ्चल र पूर्वाञ्चलमा विरोध सभा गर्ने र एक साता व्यवापी आन्दोलनको सातौं दिन ३१ बैशाखसम्म पनि माग सम्बोधन नभए सोही दिन बोर्डको कार्यालयमा धर्ना बस्दै थप कार्यक्रमहरु सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।
अहिलेसम्मको विरोधका कार्यक्रम शांकेतिक मात्र भएको बताउँदै समितिका संयोजक धमलाले माग सम्बोधन गर्नेतर्फ नलागे यस आन्दोलनले डरलाग्दो रुप लिने समेत चेतावनी दिए । राष्ट्रिय पर्यटन व्यवसायी संघका अध्यक्ष दीपक महतले निजी क्षेत्रका जायज मागहरु बोर्डले लत्याउँदा अहिलेको अवस्था निम्तिएको बताए । मंगलबार व्यवसायी संग भएको बार्तामा पर्यटन सचिव घिमिरेले एकातिरबाट व्यवसायीलाई फकाएजस्तो गर्ने, अर्कोतर्फबाट हाम्रो निर्णय मान्ने भए मान नत्र प्रहरी लगाउँछु जस्तो धम्कीको भाषा प्रयोग गरेककाले अब हुने साताव्यापी आन्दोलन निकै सशक्त हुने बताए । उनले मन्त्रालयका भएको वर्तामा सचिव घिमिरेले निजी क्षेत्रले उठाएका माग सम्बोधन गर्नुको सट्टा झन भड्काउन खोजेको आरोप लगाए । व्यवसायीको यस आन्दोलनमा अहिले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स लगायतका संस्थाहरुले एक्यबद्धता जनाएको जानकारी गराउँदै उनले सरकारले अझै अटेर गरे माग पुरा नभएसम्म कुनैपनि प्रलोभन एवं दवाबमा यस आन्द्योलन नरोकिने चेतावनी दिए ।    बोर्डका कामु प्रमुख कार्यकारी अधिकृत सुभाष निरौलालाई सचिवले बोक्दै हिँडेको आरोप लगाउँदै महतले सचिवले चाहेमा सबै समस्या तत्कालै समधान हुने दावी गरे । उनले सचिवले समस्या समधान गर्नेतर्फ भन्दा त्यसबाट टाढा भाग्न खोजेको आरोप लगाए ।  पाटा नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डेले आफ्ना मागहरु तत्काल पुरा नभए आगामी  दिनमा व्यवसायीहरुको आन्दोलन थप आक्रमक हुने चेतावनी दिए । अहिले आफुहरुको आन्दोलनमा देशभरबाट ऐक्यवद्धता जनाउने क्रम बढ्दै गइरहेको बताउँदै उनले कुनैपनि दवाव र प्रलोभनबाट यो आन्दोलन नरोकिने बताए । उनले जबसम्म निजी क्षेत्रका माग पुरा हुँदैनन तबसम्म आन्दोलनले  विश्राम नलिने चेतावनी  दिए । 

No comments:

Post a Comment