Saturday, May 17, 2014

ट्रिपर तथा ट्रक व्यवसायी पनि आन्दोलित, आगामी २ जेठभित्र माग सम्बोधन गर्न सरकारलाई अल्टिमेटम

काठमाडौं, ३० वैशाख  –क्रसर तथा खानी उद्योग व्यवसायीहरूको आन्दोलनका कारण ट्रिपर तथा ट्रक व्यवसायी पनि आफ्नो व्यवसाय बन्द गरी आन्दोलनमा उत्रिएका छन् ।
नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समिति कलंकी र बाग्मती ट्रिपर व्यवसायी संघ बनेपाले संयुक्त रूपमा राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा आगामी दिनमा आफूहरू सम्पूर्ण व्यवसाय बन्द गरी सशक्त आन्दोलनमा होमिने चेतावनी दिएका हुन् ।
संघर्ष समितिका संयोजक यादवलाल श्रेष्ठले क्रसर तथा खानी उद्योग बन्द गरेका कारण आफूहरूको ५ हजारभन्दा बढी ट्रिपर तथा मिनी ट्रकहरू बेकम्मा भएर थन्किँदा करिब १५ हजार श्रमजीवी मजदुरहरू बेरोजगार भएका कारण सरकारलाई दबाब दिनका लागि पनि हामी आगामी दिनमा आफ्ना मागहरू यथोचित रूपमा सम्बोधन नगरे सशक्त आन्दोलनका थप कार्यक्रमहरू घोषणा गर्दै अघि बढ्ने चेतावनी दिए । उनले आगामी २ जेठभित्र पनि आफ्ना मागको सुनुवाइ नभए सडकमा व्यवसायीले सामान ढुवानी गर्ने ट्रिपरहरू सडकमा तेस्र्याएर यातायात अवरुद्ध गर्ने बताए ।
उनले भने, ‘हाम्रा ट्रिपरहरू के प्रयोजनका लागि ल्याइएका हुन्, त्यसको सदुपयोग आज सही ढंगले हुन सकिरहेको छैन । हामीले काम गरेर खान पाउने कि नपाउने ? यसको ग्यारेन्टी सरकारले गरिदियोस् ।’
संघर्ष समितिका सहसंयोजक शेरबहादुर कुँवरले आफ्ना मागहरू सही ढंगले २ जेठभित्र सम्बोधन नगरे देशव्यापी रूपमा पार्किङ गरेर राखिएका सम्पूर्ण ट्रिपरहरूका साथमा मजदुरहरू सडकमा उतारी सशक्त आन्दोलनको मार्फत देशै ठप्प पार्ने चेतावनी दिएका छन् । उनले भने, ‘हाम्रा सवारी साधनहरू बन्द हुँदा हामी निकै मर्माहित भएका छौं । हामीले ऋणमा लिएका गाडीहरूको यतिबेला चर्को ब्याज तिरिरहेका छौं ।’ अखिल नेपाल यातायात मजदुर संघका केन्द्रीय उपाध्यक्ष हरि डल्लाकोटीले सरकारलाई मजदुरहरूका समस्यालाई सही ढंगले सम्बोधन गरी काम गर्ने वातावरण सिर्जना गर्न दबाब दिँदै भने, ‘काम गरेर खाने मजदुरहरू नै बेकम्मा भएको अवस्थामा राज्यले हामीलाई यही ढंगले बेवास्ता गरेर अघि बढे हामी सम्पूर्ण मजदुर तथ व्यवसायी हातमा दही जमाएर बस्दैनौं ।’ सोही आन्दोलनका क्रममा पनि केही व्यवसायीले भने अहिलेको भाउभन्दा निकै चर्को मूल्यमा ट्रिपरमार्फत गिटी बालुवा ढुवानी गरिरहेका छन् । जसले उपभोक्ता बन्दको मार खेप्न बाध्य छन् भने निर्माण सामग्री ढुवानी नभएकै कारण अहिले विमानस्थलका निर्माण कार्यदेखि राजधानीका सडक विस्तारका कामसमेत नराम्रोसँग प्रभावित भएको छ ।   

No comments:

Post a Comment