Saturday, May 17, 2014

औजारसहित सडकमा आउने क्रसर व्यवसायीको चेतावनी

काठमाडौं, २६ वैशाख–११ दिनदेखि सम्पूर्ण उत्पादन बन्द गरेर आन्दोलनमा उत्रिएका क्रसर तथा खानी उद्योग व्यवसायीले अझै सरकारले आफ्ना माग सम्बोधन नगरे  आगामी ७२ घन्टापछि सबै व्यवसायी र मजदुर सडकमा ओर्लिएर आफ्ना मेसिन औजार र ढुवानीका साधनसहित चर्को आन्दोलनमा उत्र्रिने चेतावनी दिएका छन् । उनीहरूले अहिलेसम्म सबै सरकारी मापदण्ड एवं प्रक्रिया पूरा गरी उद्योग व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीले उठाएका जायज माग सुन्नुको सट्टा उल्टै  अनावश्यक दुःख दिने काम भएको भन्दै आफ्ना माग सम्बोधन नभएसम्म कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघ, बागमती ट्रिपर व्यवसायी संघ बनेपा र नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समिति कलंकीद्धारा संयुक्त रुपमा शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष उमेश शेरचनले आगामी ७२ घण्टा भित्र पनि आफ्ना जायज मागलाई सरकारले सम्वोधन नगरे सबै व्यवसायी सडकमा उत्रिएर मेसिन औजार सहितको आन्दोलन गर्ने चेतावनी दिएका हुन् । 
गत १६ वैशाखदेखि सबै व्यवासयीले उद्योग लगायत यससँग सम्बन्धीत सबै ढुवानी सेवा समेत ठप्प भई विकास निर्माणका काम समेत बन्द हुन पुग्दा समेत सरकारले नटेरेको भन्दै उनले अझै सरकारले अटेर गरे क्रसर व्यवसायी, आफ्ना उद्योगसँग आश्रित व्यवसाय र सबै मजदुरलाई सडकमा उतारेर देशव्यापी सडक आन्दोलन गर्ने कार्यक्रम तय भएको बताए । उनले अबको आन्दोलनमा सबै व्यवसायीले  मेशिन, औजार र ढुवानी साधनहरु सडकमा थुपारेर तिब्र विरोध प्रदर्शन गर्न वाध्य हुने चेतावनी दिए । अहिलेसम्म यस क्षेत्रमा समलग्न सबै व्यवसायी आन्दोलित भएदेखि     राजधानीका सडक विस्तार एवं ठुला विकास निर्माणका कामहरु समेत प्रभावित भएको जानकारी गराउँदै उनले तत्काल आफ्ना माग पुरा गरि व्यवसायीलाई काम गरेर खाने वातावरण बनाईदिन आग्रह गरे । उनले करिब ८० अर्ब भन्दाबढी लगाई भईसकेको यस उद्योगलाई सरकारले गम्भिरताकासाथ सहयोग दिनुपर्नेमा अहिलेसम्म यस्ते नभएको बताए ।  
महासंघका सचिव सिताराम न्यौपानेले क्रसर तथा खानी उद्योग स्थापना एवं सञ्चालन गर्ने बेलामा नै राज्यले स्वीकृति दिईसकेकाले अहिले व्इवसायीलाई अनावस्यक दुःख दिने काम भईरहेको बताए । नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रिय कोषाध्यक्ष रोशन दाहालले विकास निर्माण जस्तो अति सम्वेदनशिल क्षेत्रमा भईरहेको बन्दका गतिविधीले अहिले आगामी असार मसान्त भित्र सकिसक्नुपर्ने काम समयमा नसकिने भएकाले सरकारले क्रसर व्यवसायीका मागलाई तत्काल सम्वोधन गरेर आन्दोलन टुंग्याउने वातावरण बनाईदिनुपर्ने बताए ।   सो कार्यक्रममा  क्रस उद्योगी मात्र नभएर यातायात तथा ढुवानी व्यवसायीहरुले पनि यस मागलाई सरकारले तत्काल सम्बोधन गर्नुपर्ने धारणा राखेका थिए । 

No comments:

Post a Comment